© २०२३
जितपुर, १६ मंसिर ।
१५ औं कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । शनिवार संघको हलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका अध्यक्ष गणेश बहादुर क्षेत्रीले महोत्सवको तयारी ८० प्रतिशत पूरा भएको जानकारी दिए ।
कपिलवस्तु उद्योग वाणिज्य संघले “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र“ भन्ने मुल नारा अन्तर्गत आयोजना गरेको महोत्सव मंसिर १९ देखि २ गते सम्म बुद्ध रंगशालामा आयोजना हुनेछ ।
महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँ भन्दा बढी कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । यसपटक ५० वटा स्टल निर्माण सम्पन्न भइसकेका छन् भने विशिष्टिकृत स्टलहरूको निर्माण प्रक्रिया जारी छ । महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवर्द्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको पनि संघले जनाएको छ ।
कृषि प्रवर्द्धनको लागि कृषि आधुनिकीकरणको प्रदर्शनीको आयोजना गरिनेछ र सम्बन्धित सबैलाई सोमा सहभागी हुन अनुरोध गरिएको छ । लुम्बिनी विकास कोषलाई बुद्धसँग सम्बन्धित कार्यक्रमहरूलाई अगाडि बढाउनको लागि समेत अनुरोध गरिएको जानकारी दिइएको छ ।
यस वर्षको महोत्सव विगतका महोत्सवहरू भन्दा फरक हुनेछ । आयोजकले कपिलवस्तु डान्स आइडल, प्रदेशस्तरीय कपर्दी, साइक्लिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य र स्थानीय कला–संस्कृतिको प्रवर्द्धनमा विशेष ध्यान दिएको जनाएको छ । यस वर्ष महोत्सवको गेटको डिजÞाइन पशुपतिनाथको मन्दिरको झल्को दिने गरी निर्माण गरिनेछ, जुन गेट निर्माण समिति संयोजक इन्द्र पोख्रेलले जानकारी दिएका छन् ।
महोत्सवको उद्घाटन नागरिक उड्ययन र पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, महोत्सवको दौरान महानायक राजेश हमालले कपडा बैंकको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको आयोजक संस्थाका गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।