© २०२३
बर्दिया, ३ मंसिर ।
लामो समय वडाअध्यक्ष रिक्त रहेको ठाकुरबाबा नगरपालिका–४ को वडाअध्यक्षका लागि छ पार्टीले चुनावी प्रतिष्पर्धा गर्दैछन् ।
आइतबार कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णु देवकोटा, माओवादीबाट शेरबहादुर थारु, राप्रपाबाट रत्नबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र नागरिक उन्मुक्ति पार्टीबाट प्रितीलाल चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।
यसअघि भएको निर्वाचनमा कांग्रेसका सुर्य विष्ट वडाअध्यक्षमा निर्वाचित भएका थिए । तर, उनी जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि वडाअध्यक्ष खाली भएको थियो ।
कांग्रेसले उक्त वडामा एकपछि अर्को राजनीतिक गल्ती दोहोर्याउँदै गएको स्थानीय मतदाताको गुनासो छ । सुर्य विष्टलाई जिल्ला समन्वय समितिको संयोजक नै बनाउनु थियो भने अर्को कोही नेतालाई वडाअध्यक्षमा उम्मेदवारी दिनुपर्ने आवाज त्यही बेला उठेको थियो ।
यसपल्ट फेरि कांग्रेसले अर्को गल्ती दोहोर्याएको छ । वडा सदस्यमा निर्वाचित सदस्य अमिन थारुलाई राजीनामा दिन लगाएर वडाअध्यक्षको उम्मेदवार बनाएको छ । मंसिर १६ मा हुने निर्वाचनमा कांग्रेस पराजित हुने हो भने अमिन थारुको दोहोरो भूमिकामा प्रश्न चिन्ह लाग्ने कार्यकर्ताहरु बताउँछन् । उक्त वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन्