© २०२३
काठमाडौं ।
पहिलाेपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत निर्यातकाे उद्घाटन गरिएको छ।
भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएकाे हाे । उद्घाटनसँगै विद्युत आज रातिदेखि बंगलादेश निर्यात हुनेछ ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएकाे ऊर्जा मन्त्रालयले जनाएकाे छ । यससँगै नेपाल- बंगलादेशबीच विद्युत व्यापार औपचारिक रुपमा सुरुवात भएकाे छ ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो । विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म प्राधिकरणको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।
त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।
ऊर्जामन्त्री खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री खट्टरसँग छलफल गरेका थिए ।
हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।