© २०२३
चन्द्रौटा(कपिलवस्तु), २६ कार्तिक ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले खेलकुदले राष्ट्रलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर १, नयाँगाउँमा आइतबार सुरु भएको खुल्ला पुरुष र महिला प्रतियोगितालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
युवाहरुमा भएको प्रतिभालाई उजागर गर्ने माध्यम भएको बताउँदै पछिल्लो समय युवाहरुलाई खेलप्रति आकर्षण बढ्दै गएको थापाले बताए । बहुआयामिक, सामाजिक पाटोको रुपमा अगाडी बढ्दै गएको उनले बताए । खेलकुदले स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै राम्रो र अनुशासित बनाउन प्रेरणा दिने गरेको थापाले जनाए । यसैबीच समाजसेवी थर्क बहादुर खन्गाहाले निरन्तर रुपमा एकादशीको अवसरमा खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको बताउँदै खेलप्रति युवाहरुको जागरुकता बढ्दै गएको बताए । उनले यस खेलले शारीरिक, मानसिक र समाजिक रुपमा विकास गर्न महत्त्वपूर्ण टेवा पुग्ने बताए ।
ग्रामीण क्षेत्रमा यस खेलकुद प्रतियोगिताले स्थानीय खेलाडी उत्पादन र प्रोत्साहनमा अहम भूमिका निर्वाह गर्दै आएको उनले बताए । भलिबल खेल प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितीय १७ हजार र तृतीय १० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । यस्तै महिलातर्फ प्रथम पुरस्कार ६ हजार, द्वितीय ४ हजार ५ सय र तृतीय ३ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाण–पत्र रहेको आयोजकले जनाएको छ । एकादशी मेला व्यवस्थापन समिति र सुनौलो बिहानी बाल क्लबको संयुक्त आयोजनामा एकादशीको अवसरमा भलिबल प्रतियोगितामा २४ टीमले प्रतिस्पर्धाका लागि सहभागीता जनाएको एकादशी मेला व्यवस्थापन समितिका अध्यक्ष भुपाल सिंह थापाले जानकारी दिए । उनले पुरुषतर्फ १६ र महिलातर्फ ८ टीमले भलिबल प्रतियोगितामा भाग लिएको जनाए ।