© २०२३
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार एकै दिन तिन बायुसेवाले अन्तर्राष्ट्रिय उडान गरेपछि यस क्षेत्रमा आशाको सञ्चार भएको छ । जजिरा एयरलाइन्स, फ्लाई दुबई र नेपाल एयरलाइन्सले एकसाथ तीन अन्तर्राष्ट्रिय उडान गर्दा अव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्ने आशा पलाएको छ । अर्बौं लगानीमा निर्माण भएको यो बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रका पर्यटन व्यवसायी निरासमात्रै थिएनन, लुम्बिनी प्रदेशमै त्यसको असर पुग्ने चिन्ता थियो । जेहोस ढिलै भएपनि अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रमा आशाको ज्योति बलेको छ, त्यो निभ्न दिनु हुँदैन । त्यसका लागि सरकार, पर्यटन व्यवसायी लगायत स्थानीय लुम्बिनी प्रदेशका जनताको खबरदारी आवश्यक छ । दुई वर्षअघि यो विमानस्थल उदघाटनसँगैं जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगित गरेको थियो । जजिराले अव फेरी पनि उडान स्थगन गरेको समाचार सुन्नु नपरोस् । जजिरालाई अन्तर्राष्ट्रिय उडानको वातावरण बनाईदिनु आवश्यक छ । दुई वर्षपछि जजिराले पुनः उडान सुरु गरेपछि विमानस्थलमा उत्सवको माहौल बनेको छ । गौतमबुद्ध विमानस्थल व्यवस्थापनले समेत शनिबारको दिन एकैपटक तिन अन्तर्राष्ट्रिय उडान हुनुलाई विशेष दिनका रूपमा लिएको छ । एकै दिन धेरै विमान कम्पनीले उडान थाल्ने भएपछि यहाँ अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको थियो । अव पानीको फोहोराले स्वागत गरेको दिन एकादेशको कथा नबनोस् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित होस् । जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । त्यसैगरी फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । त्यसैगरी नेपाल एयरलाइन्सले शनिबार साँझबाट काठमाडौँ–भैरहवा–दुबई उडान सुरु गरेको छ । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रबार उडान गर्ने तय भएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन थालेपछि अव यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । गौतमबुद्ध विमानस्थल उदघाटन भएको दुई बर्षपछि पहिलोपटक यति धेरै संख्यामा अन्तर्राष्ट्रिय उडान हुनु सवैका लागि गौरवको बिषय हो । यो विमानस्थल चल्दैन कि भन्ने चिन्तामाझ यसले खुसी लिएर आएको छ । अव यसलाई नियमित चलाउने र यो भन्दा अझ धेरै अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने छ । यो विमानस्थलबाट आगामी दिनमा व्यावसायिक उडानहरू बढ्ने र यात्रुहरूको आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ ।
गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । यो पनि अति खुसीको कुरा हो । नेपालका युवाहरूका लागि कतार प्रमुख श्रम गन्तब्य मुलुक हो । कतारबाट सिधै भैरहवा अवतरण गर्न पाउनु यस क्षेत्रबाट बैदेशिक यात्रामा जानेहरूका लागि सुविधा पुग्ने कुरामा दुईमत छैन । जेहोस भैरहवास्थित गौतमबुद्ध विमानस्थलले पश्चिम नेपाललाई अन्तर्राष्ट्रिय बजारसंग जोड्न महत्वपूर्ण सहयोग पु¥याएको छ । गौतमबुद्ध विमानस्थलले दिएको खुसी खोस्ने काम अवको दिनमा नहोस् । त्यसका लागि भोलिका दिनमा आवश्यक पर्ने सवै प्राविधिक र पूर्वाधारका काम सम्पन्न गर्ने कुरामा ढिलाई नहोस् । बैदेशिक रोजगारीमा जाने श्रमिक मजदुरका लागि श्रमको व्यवस्था, अध्यागमन कार्यालय लगायत प्राविधिक जनशक्ति व्यवस्थापनमा कतै कमजोरी नहोस् ।