© २०२३
नवलपरासी, २३ कार्तिक ।
जिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्य म्याद सकिँदासम्म २० प्रतिशत काम भएको छैन । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उक्त सडक निर्माणले गति नलिँदा सडक वरिपरिका ब्यवसायी हैरान छन् ।
महेशपुर मुल भन्सार नाकालाई सदरमुकाम परासी हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने उक्त सडकको पहिलो खण्ड निर्माणमा ढिलाई भई रहँदा पुरै सडक बन्न दशक लाग्ने आँकलन स्थानीयको छ । सरकारले ठेक्का लगाउने तर बजेट बिनियोजन नगरिदिने गरेको जनाउँदै ठेकेदारले काममा ढिलाई गर्ने गरेका छन् । सरकारले वास्तविकता के हो ? त्यसको उत्तर दिन सकिरहेको छैन । सडक स्तरोन्नतीको सपना देखाउने तर काम गर्न नसक्ने सरकारी क्षमता माथि नै अब प्रश्न उठ्न थालेको स्थानीय जितेन्द्र गुप्ताले भने, जति सकिन्छ त्यती मात्र ठेक्का गर्नु पथ्र्यो,जुन बेलामै काम ठेकेदारले गर्न सक्थ्यो, जस्ले गर्दा स्थानीयबासीलाई धुलोमा आउ जाउ गर्ने समस्या त कम हुन्थ्यो । महेशपुर भन्सारलाई मुल भन्सार बनाउने र सोही अनुसारको सडकको स्तरोन्नती गर्ने लक्ष्य अनुसार योजना सरकारले लिएको थियो । बजेट अभाव र ठेकेदारको बदमासीले अहिले स्थानीय जनतालाई हैरानी र सास्ती ब्यहोर्न परेको उनको भनाइ थियो ।
सडकको दुबै किनारमा निर्माण कम्पनीले अधुरो नाला मात्र निर्माण गर्न सकेको छ । वरिपरि खाल्टा खुल्टी परेका छन् । वरिपरीका घर र ब्यापार ब्यवसायलाई प्रभावित बनाइ रहेको छ । ब्यापार त पुरै चौपट भएको बताउँदै गुप्ताले भने, निर्माण कार्य गर्ने निर्माण ब्यवसायी सम्पर्कमा हुँदैनन्, जनताले कस्लाई गुनासो गर्ने ? सरकारी प्राविधिकको त नाक मुख हेर्न पाइँदैन् । सडकको अवस्था विगत भन्दा दयनिय बन्दै गएको छ । बरु सडक स्तरोन्नतीको ठेक्का नहुदा बर्षेनी सडक मर्मत हुदै आएको थियो, त्यसले गर्दा खाल्टा खुल्टी पुरिदै जान्थ्यो । तर अहिले ठेक्कामा परेको हुदा त्यो सडकको मर्मत समेत रोकिएको छ । निर्माण ढिलाई भई रहेको छ । भन्सार राजस्वमा सडक पनि एउटा कारक बनेको दाबी उनको थियो । कलभर्टहरू बन्दा पानी जम्ने र डुबान जस्ता पनि समस्या यथावत छन् । सडकको किनारमा अहिले जहाँ तही ढुगाँ, गिट्टि, बालुवा, माटोहरू थुपारिएका छन् ।
विगतमा चुनावी एजेण्डा बनेको सोही सडकको भक्सिपुर पुल पनि होचो अवस्थामै रहेको छ । सडकसँगै पुलको पनि काम गर्नु पर्ने हो,तर पुलको अवस्थाबारे कुनै जानकारी नै नभएको उनले सुनाए । साँसद फेरिए तर पुल जस्ताको तस्तै छ,उनले भने, जनताले पुलको अवस्था फेरिन्छ,भनेर सो क्षेत्रका साँसद पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेललाई हराउदै पुर्व आईजिपि तथा राप्रपाका नेता धु्रव बहादुर प्रधानलाई जिताउँदै नेता फेर, तर सडक र पुल फेरिएन्, यसले जनतामा निरासा छाएको छ । ठेकेदारको लापर्वाही हो भन्ने ठेकेदारलाई काम गर्न लगाउनु पर्छ, बजेट नछुट्टयाइएको हो भने बजेट छुट्टयाउनु पर्छ ।
अहिलेको सांसद प्रधानको पनि जिम्मेवारी भएको स्थानिय लक्ष्मि हरिजनले बताए । सडक पुल एजेण्डा बनाई मत माग्ने नेता मत प्राप्ती पछि नियमित सो एजेण्डालाई फ्लो गर्नुपर्ने उनको भनाइ थियो । नेताहरूमा ‘अपना काम बन्ता, भाडमा जाए जन्ता’ जस्तै चरित्र देखिन थालेको आरोप उनको थियो ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभाग को सडक डिभिजन कार्यालय बुटवलले सो सडकको महेशपुर बजार देखी हरपुर बजारसम्मको खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ भ्याट सहितको रकममा ठेक्का लगाएको थियो । उतm ठेक्काको काम गौरीशंकर हिमालयन निर्माण प्रालिले २०८० साल बैशाख २६ गते सम्झौता गरि २०८१ असोज २६ गते भित्र सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । तर अहिले सडकका दुबै तर्फका नालाका काम पनि पुर्ण भएका छैनन् । सडकका सबै काम बाँकी नै छ । सडक निर्माण ढिलाईले दर्जनौं पसल विस्थापित समेत बनेका छन् । दर्जन घरहरू सडक फराकिलो हुन्छ,भनेर घर भत्काएका छन् । तर सडक नबन्दा घर त भत्कियो, भत्कियो, बचेका घरमा पस्नका लागि बाटो समेत अवरुद्ध भएका छन् । भविष्यको सपना हेरेर कतिसम्म बस्ने र कुर्ने,वर्तमानको दुःख कतिसम्म लब्याउने ? उनको भनाई थियो । सडक निर्माणको तिब्रताका लागि सरोकारवालाले पहल गर्न समेत आग्रह उनले गरेका थिए । चार अर्ब बढि लागतको डिपिआर भएको उक्त सडक पहिलै खण्डमा अड्किएको छ ।