© २०२३
पाल्पा, २२ कात्तिक ।
पाल्पामा शुक्रबार र शनिबार हुने “हेरिटेज राइड” साईकल यात्राको तयारी पूरा भएको छ । बिहिबार तानसेनमा पत्रकार सम्मेलन गरी पाल्पा जिल्ला साईक्लिङ्ग संघले तयारी पूरा भएको जनाएको हो ।
पाल्पाको धार्मिक, ऐतिहासिक, प्राकृतिक महत्वको प्रचारप्रसार, पर्यटनको प्रबद्र्धन र स्वस्थ जीवन शैलीमा टेवा पुर्याउने उद्देश्यले दुई दिने “हेरिटेज राइड” साईकल यात्रा आयोजना गरिएको हो । पाल्पा जिल्ला साईक्लिङ्ग संघको आयोजनामा साइकल यात्रा हुन लागेको हो । शुक्रबार बिहान ६ बजे तानसेनको टुडिखेलबाट सुरु हुने साईकल यात्रा तानसेन, भैरबस्थान, लिस्ने भीर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेनमा आएर समापन हुने आयोजक पाल्पा जिल्ला साईक्लिङ्ग संघले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
साइकल यात्रामा पाल्पासंगै रुपन्देही, नवलपरासी, कावासोती, चितवन, काठमाडौं, सिराहा, नेपालगञ्ज, लगायतका स्थानबाट राईडरहरु पाल्पा आइसकेको आयोजकले जनाएको छ । जसमा १ सय ५० जना साईकल राइडरहरु सहभागी हुने छन् । यात्रामा १४ बर्षदेखि ६५ बर्षसम्मका राईडरहरु सहभागी हुने छन् । जसमा दुई जना अपाङ्ग, एक जना महिला र एक जना बिदेशी नागरिकको समेत सहभागीता रहने आयोजक पक्षले जनाएको छ ।
साहसी पर्यटनको निकै राम्रो सम्भाबना भएको पाल्पामा हुन लागेको साईकल यात्राले पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याउने संघका सल्लाहकार सागरमान महर्जनले बताए । उनले यात्रामा सहभागी सबैको बीमा, प्राथमिक उपचार, खाना तथा बासको समेत ब्यबस्था गरिएको बताए ।
साईकल यात्राले तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकासम्म यात्रा तय गर्ने छ । यात्राको क्रममा बिभिन्न स्थानका पहिचानको रुपमा रहेका संस्कृतीका झाँकीहरु देखाइने छ ।