© २०२३
बुटवल, २२ कार्तिक ।
आठ वर्षदेखि अलपत्र बुटवलको राजमार्ग चौराहदेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणको काम शुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको नयाँ ठेकेदार कम्पनी बावुल दर्शन मालिका जेभी भैरहवाले तिहार लगत्तै मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो । बावुल दर्शन मालिका जेभी भैरहवाका रउफिक रहमन खानले सडक निर्माणको काम समयमा नै सक्ने गरि अघि बढाउन थालेको बताए । ‘राती र दिउँसो दुई सिफ्टमा काम हुनेछ,’ –उनले भने । साथै उनले छठ पर्व पछि जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्ने बताए । इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम थालेको छ । सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम अघि बढ्ने उनले बताए ।
बुटवलको यो सडक समयमा सम्पन्न नहुँदा मुख्य सडक छेउका व्यवसायीहरू पलायन भएका छन् । यो पटक पनि त्यही अवस्था दोहोरिए बुटवलले अर्को व्यवसायिक क्षति बेहोनुपर्ने देखिन्छ । तर निर्माण गर्दा धुलो उड्न नदिने ब्यवस्था गरिने दाबी गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण कम्पनी विरुवा जेभी कन्स्ट्रक्सन प्रालिले साढे तिन किलोमिटर सडक सात बर्षसम्म अलपत्र पारेको आरोप लगाए । बि.सं. २०६९ सालमा चार लेनमा निर्माण भएको यो सडक खण्ड पछि ६ लेनमा बिस्तार गर्ने योजना अघि बढेको थियो । निर्माण सम्पन्न नगरी आलटाट गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले निर्माणको जिम्मा दिएको उनले बताए । ‘एक बर्षमा सम्पन्न गर्ने र ६ लेनमा बिस्तार गर्ने गरी ३३ करोड रुपियाँमा ठेक्का लागेको छ,’ उनले भने । यो सडकमा अन्तर्राष्ट्रिय स्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
बुटवलको मुख्य बजार क्षेत्र रहेको यो सडक निर्माणको जिम्मा सात वर्षअघि कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपियाँमा ठेक्का पाएको थियो । २०७६ सम्ममा सडक बिस्तार सक्ने गरी ०७३ साल चैत १३ मा ठेक्का सम्झौता भएको थियो । तर निर्माण कम्पनीले सडक निर्माणमा लापरवाही गरेपछि सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता रद्द गरेको हो ।
उक्त सडक निर्माणका क्रममा ३५ करोड रुपियाँ खर्च भैसकेको थियो । पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले दुई महिनाअघि पुरानो ठेक्का रद्द गरी नयाँ टेण्डर गरेको थियो । अब निर्माण हुने उक्त सडक ६ लेनमा र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी गरिएको छ । सडकको फुटपाथ तिन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने भएको छ ।