© २०२३
नेपालगञ्ज ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याउने भनिएको अध्यादेश दुर्भाग्यपूर्ण हुने प्रतिक्रिया दिएका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा हुन थालेको कार्यक्रममा सहभागी हुन जाने क्रममा मंगलबार नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दल सम्बन्धी ऐन अथवा विधेयक ल्याउँदा सबै दलसँग छलफल गर्नु पर्नेमा संसद नबसेको बेला सरकारले बहुदलीय प्रजातन्त्र नै समाप्त पार्ने दुश्प्रयास गरेर अध्यादेश ल्याउन थालेको आरोप लगाए । प्रजातन्त्र र बहुदलीय ब्यवस्थाप्रती राप्रपा पूर्ण प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष लिङ्देनले यो ब्यवस्था समप्त पार्ने सरकारको प्रयास अगाडी बढेमा प्रतिकार गर्ने चेतावनी समेत दिए ।
अध्यक्ष लिङ्देनले एमाले पार्टी कार्यालय बनाउन ब्यावसायीसँग अरबको सम्पति लिनुलाई नैतिक भ्रष्टाचारको संज्ञा दिए । लिङ्देनले प्रधानमन्त्रीलाई ब्यक्तिगत रुपमा भेटेर ब्यावसायीसँग जग्गा लिनुलाई आम जनताले राम्रो रुपमा नहेरेको बारे सम्झाएको बताए ।
अध्यक्ष लिङ्देनल पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउलाई अनुचित नभएको प्रतिक्रिया दिए । अभियोग लागेपछि सफाई दिनुपर्ने बताउँदै लिङ्देनले यस्ता अभियोग लागेका सबैलाई पक्राउ गरि छानविनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । सन्तुलन मिलाएर कारवाही प्रक्रिया बढाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिए ।
लिङ्देनले अहिलेको ब्यवस्थाले देशको अवस्था परिवर्तन नहुने भएकाले अवस्था सुधार्न ब्यवस्था परिवर्तन गर्न आवश्यक रहेको ठहर गर्दै राप्रपाले आनदोलनको तयारी गरेको जिकिर गरे । उनले राजादेखि माओवादीसम्म अटाउने ब्यवस्था आवश्यक रहेको बताए । उनले प्रदेश संरचना खारेज गरी स्थानीय सरकारलाई मजबुत बनाउनु पर्नै र जनप्रतिनीधिको संख्या कटौती हुन आवश्यक रहेको बताए । राप्रपाका केन्द्रीय अध्यक्ष लगायतको टोली आउँदा बाँकेका सिमित नेता तथा कार्यकर्ता मात्र स्वागत गर्न पुगेका थिए ।
महामन्त्री डा. धवलशमशेर राणाको गृह जिल्ला बाँके भएको र हालसालै संगठन विभागबाट हटाईएकोमा यहाँका नेता तथा कार्यकर्ता आक्रोशित रहेका छन् । यस प्रश्नमा अध्यक्ष लिङ्देनले एक ब्यक्ति एक पदको अवधारणा अनुसार जिम्मेवारी हेरफेर गरेको प्रतिक्रिया दिए । कर्णाली यात्रामा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेता आएका छन् ।