© २०२३
बुटवल, २४ असोज । देशभरका दुर्गा मन्दिरमा हर्षोल्लास र विधिवत फुलपाती भित्राउने काम सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको ठूलो चाड दशैको सातौ दिन विहिबार बुटवल वडा नं १० स्थित कालिका मन्दिरमा फुलपाती भित्राईएको हो । प्रहरी बाजागाजासहित मन्दिर परिसरबाट निस्किएको भक्तालुहरुको रयाली घरदैलोमा फुलपाती लिएर राजमार्ग चौराहा, अभियान पथ हुदै योगीकुटीबाट चौराह हुदै पुनः मन्दिरमा आई समापन भएको थियो ।
कार्यक्रमको वडा नं १० का वडाअध्यक्ष बल बहादुर पुनले विधिवत पुजापाठ गरि शुभारम्भ गरेका थिए। वडाबाट पुर्वाधार निर्माणका साथै बर्सेनि पुजाको लागि ५० हजार रुपैया सहयोग गर्दै आएको उनले बताए । विगत वर्षदेखि नै लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको बाजाको टिमबाट सहयोग हुँदै आएको उनले बताए ।
कालिका मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रकाश पौडेलले बुटवलकै पुरानोमध्येको एक शक्तिपिठका रुपमा चिनिने बताउदै मन्दिरलाई पुर्ननिर्माण गरि नया ढंगबाट ब्यवस्थित रुपमा संचालन गरिदै आएको बताए । फूलपाती भित्र्याउने चलन मुख्य गरी राजा महाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताइन्छ । खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ । फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्राउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।
एक कठ्ठा क्षेत्रफलमा मन्दिरको पुर्वाधार तयार भएको छ । धार्मिक महत्वकै कारण धेरै भक्तजनहरु मन्दिरमा आउने गरेका छन । सो वडामा १४ सय घरधुरी रहेका छन ।