© २०२३
चन्द्रौटा(कपिलवस्तु), १९ असोज ।
नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरू एमालेमा फर्किएपछि कपिलवस्तुको शिवराज नगरमा (नेकपा एस) पार्टीको संगठन लगभग रित्तिएको छ । एमाले शिवराज नगर कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममार्फत उनीहरू एमालेमा समाहित भएका हुन् ।
नेकपा एसका केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा एमालेमा प्रवेश गर्ने नेताहरूमा प्रदेश सदस्य जितबहादुर रावत, कपिलवस्तु जिल्ला सचिव सरोज पौडेल, जिल्ला सदस्य बलबहादुर बिश्वकर्मा, शिवराज उपाध्यक्ष सम्झना चौधरी, युवा संघ अध्यक्ष रुपेन्द्र आचार्यलगायत १ सय ५० भन्दा बढी नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका एमाले शिवराजले जनाएको छ ।
एमाले शिवराज नगर अध्यक्ष महादेव पोखरेलका अनुसार नेकपा एस मात्र नभई नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका १ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू समेत एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमपछि शिवराज नगरमा एकीकृत समाजवादी पार्टीको कार्यकर्ता संख्या अत्यन्तै शून्यमय भएको छ । अधिकांश नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि नेकपा एसको संगठन लगभग खालीजस्तै बनेको छ ।
“नेकपा एसका मुख्य नेतृत्वसहितको प्रवेशले शिवराज नगरमा पार्टीको संगठनात्मक संरचना लगभग भत्किएको छ” ः एक स्थानीय राजनीतिक विश्लेषकले भने । पार्टीको आगामी रणनीति र भविष्यका योजना पूर्ण रूपमा प्रभावित भएका छन् । कार्यक्रमकमा नवप्रवेशी नेता छविलाल शर्माले आफ्नो धारणा राख्दै भने, “हामीले देखेको राजनीतिक दिशा र सिद्धान्त एमालेमै छ, त्यसैले हामी पुरानै पार्टीमा फर्कने निर्णय गरेका हौं ।” एमालेले आफ्नो संगठनलाई थप बलियो बनाउन सक्ने उनले विश्वास व्यक्त गरे ।
यस प्रवेश कार्यक्रमले शिवराज नगर मात्र नभई कपिलवस्तु जिल्लाको समग्र राजनीतिक समीकरणमा परिवर्तन ल्याउने अपेक्षा एमालेले गरेको छ । एमालेले यो अवसरलाई आफ्नो संगठन विस्तारको रूपमा लिएको बताएको छ भने, एकीकृत समाजवादी पार्टीको स्थानीय नेतृत्व अहिले आफ्नो संगठन बचाउन कठिन अवस्थामा रहेको देखिन्छ । यस प्रवेश कार्यक्रमसँगै, नेकपा एसका नेताहरूले एमालेमा प्रवेश गर्ने यो क्रम आगामी दिनहरूमा पनि जारी रहने समेत बताइएको छ । राजनीतिक वृत्तमा यस घटनाले शिवराज नगरको राजनीति नयाँ मोडमा प्रवेश गरेको संकेत गरेको छ ।