© २०२३
बर्दघाट, १८ असोज ।
चाडपर्वलाई लक्षित गरि यात्रुहरुको सहजताको लागि जिल्लाको पाँच स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ।नवलपरासीको बर्दघाट टि सि यन चोक, महेशपुर, परासी बाइपास, सुनवल र भुमहीमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।
अहिले विपदको समय पनि रहेको र मुख्य चाडपर्व पनि नजिकिँदै जाँदा सडकमा यात्रु र सवारीको चाप बढने र सवारी सँगै यात्रुलाई समेत थप सुविधा प्रदान गर्ने हेतुले यात्रु सहायता कक्षको स्थापना गरिएको पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन । उनले पर्वको बेलामा सवारीमा अत्याधिक चाप हुँदा वृद्ध, अपाँग, महिला लगायतका लागि छुट्याइएका आरक्षित सिटमा अन्य ब्यक्ति राखी सवारी सँचालन गर्दा लक्षित वर्गलाई थप असहज हुने हुँदा उनीहरुलाई ब्यवस्थित यात्रा गराउन यातायात ब्यवशायीसँग आग्रह समेत गरेकी थिइन ।
चाडपर्वको बेलामा अन्य समय भन्दा भाडामा यात्रु ठगिने, विचौलियाहरुको गतिविधि बढने, सामान हराउने लगायत हुन सक्ने भएकोले यावत समस्या न्युनिकरण गर्न मुख्य चोकहरुमा २४सै घण्टा सेवा प्रदान हुनेगरी प्रहरी परिचालन गरि सहायता कक्षको स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले चाडपर्वको बेला प्रहरी जनशक्ति उच्चतम प्रयोग गरि हुन सक्ने चोरी, आपराधिक गतिविधिलाई नियन्त्रण गर्नको लागि प्रहरी परिचालन गरिने जानकारी दिए।
बर्दघाट टि सि यन चोकमा स्थापित सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरीले निरन्तर सेवा प्रदान गर्ने र यातायात ब्यवशायीसँग समेत नियमित समन्वय गरी यात्रुहरुलाई गन्तब्यमा पुग्नको लागि सहज सेवा प्रदान गर्ने ब्यवस्था मिलाएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरिक्षक दिपेन्द्र वानियाँले जानकारी दिए ।