© २०२३
सुर्खेत ।
चाडपर्व लागेसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बजार अनुगमन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा म्याद नाघेका र सडेका अखाद्य वस्तु फेला पारेको छ । यतिबेला चाडपर्व भित्रिएसँगै नागरिकहरु बजारमा किनमेलमा व्यस्त छन् । व्यापारीहरु भने यही मौका छोपेर कालोबजारी गरिरहेका छन् ।
बजार अनुगमनका क्रममा पसलपिच्छे म्याद नाघेको र गुणस्तरहिन वस्तु फेला पारेको वीरेन्द्रनगर नगरपालिका उद्योग तथा अनुगमन शाखा प्रमुख दिपेन सुवेदीले जनाए । उनले बजार अनुगमनका क्रममा विभिन्न नास्ता पसलहरुमा फेला परेका सडेगेलका मिठाईसँगै अखाद्य रंगका डिब्बाहरु स्वयम् व्यापारीबाट नष्ट गर्न लगाईएको जनाए ।
उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत थिरबहादुर श्रेष्ठले बजार अनुगमनमा धेरै जसो पसलमा खाद्यान्न सामग्रीमा म्याद नाघेका पाइएको, पेय पदार्थ, कस्मेटिक सामग्रीहरु समेत म्याद नाघेका, कतिपय पसलहरु सम्बन्धित निकायमा दर्ता नभएका पाइने गरेको बताए । उनले बजार अनुगमनका क्रममा व्यापारीहरुलाई सम्बन्धित निकायमा दर्ता हुन, मूल्य सूची राख्न र म्याद गुज्रेका सामग्री बिक्री वितरण नगर्न निर्देशन दिइएको जनाए ।
उनका अनुसार व्यापारीले मूल्य सूची नराखेका, अखाद्य सामग्री बिक्री वितरण गरेका, लेबल नभएका सामग्री बिक्री वितरण गरेका व्यापारीलाई अर्को पटक कार्वाही गरिने चेतावनी दिएर छोड्ने गरिएको छ ।
त्यसैगरी अनुगमन टोलीले उत्पादन मिति नै एक हप्ता अगाडि राखेर चाउमिन विक्री गर्ने उद्योगको उत्पादन जफत गरेको छ । अनुगमन टोलीले वीरेन्द्रनगर–९, शिवनगरबाट म्याद नाघेका खाद्य वस्तुको लेवल परिवर्तन गरी कमसल वस्तुलाई झुक्याएर उच्च गुणस्तरको भनेर विक्री वितरण गर्ने ‘सुर्खेत फ्रोजन मःम फुड हाउस’ को दुई सय किलो चाउमिन वरामद गरेको हो ।