© २०२३
काठमाडौं।
नेपालभरका बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्मा परेका १७,१२० जनाको सुरक्षित उद्धार गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरूका टोलीले बिहीबार बिहानसम्म १७,००० भन्दा बढीको उद्धारमा सक्रियता देखाएका छन्।
विपदमा बेपत्ता भएका २२ जनाको खोजी कार्य जारी रहेको छ भने १६९ जनाको निःशुल्क उपचारका लागि विभिन्न अस्पतालमा व्यवस्था गरिएको छ।
गृह मन्त्रालयका अनुसार, काठमाडौँ उपत्यकाबाट २,१५८, कोशी प्रदेशबाट ९०, मधेश प्रदेशबाट ३५ र बाग्मती प्रदेशबाट १३,६४० जनाको उद्धार गरिएको छ।
गृह मन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणको कार्यलाई प्राथमिकता दिएका छन् र अवरुद्ध राजमार्गहरू खुलाउनका लागि सरोकारवालासँग समन्वय गरिरहेका छन्।
सहसचिवको नेतृत्वमा गठन गरिएको कार्यदलले प्रभावित आठ जिल्लामा तत्काल उद्धार र राहतका लागि आवश्यक समन्वय र सहजीकरणको कार्यमा जुटेको छ। कार्यदललाई मानविय र भौतिक अवस्था मूल्याङ्कन गरी सिफारिस गर्ने जिम्मेवारी पनि दिइएको छ।