© २०२३
प्यूठान, १७ असोज ।
पत्रकारहरूको छातासंस्था नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको कार्यालयमा ताला लागेको तीन महिना वित्दा पनि ताला खोल्नेमा महासंघले तदारुकता देखाएको छैन । जिल्ला कोषाध्यक्ष सहितका जिल्लाका पत्रकार नेताहरूले ताला लगाएको ताला तीन महिना बित्ता पनि खुलेको छैन् ।
सुर्खेत मापदण्डले गैरपत्रकारहरूलाई हटाउने र क्रियाशिल पत्रकारलाई सदस्यता दिने उद्देश्यका लागि मापदण्ड बनाएपनि विवादित सिफारिस गरिएको थियो । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको एक परियोजनामा कार्यरत पहाडीले आफ्नै सदस्यता जाने भएपछि असार १५ गतेमा आफु कोषाध्यक्ष रहेको शाखामा तालाबन्दीको नेतृत्व गरेका थिए । महासंघको कार्यालयमा तालासंगै सूचना केन्द्र झाडिले ढाकेको छ ।
आफ्नै कार्यसमितिका पदाधिकारी समेतले लगाएको तालाबन्दिको विषयमा अध्यक्ष रिजाल राजनीतिक दलका भातृ संस्थाले लगाएको भन्दै पन्छिँदै आएका छन् । उनले जिल्लाले उनीहरूको माग सम्बोधन गर्न नसक्ने बताए । ‘यो केन्द्रको समस्या हो, केन्द्रमा मिलेपछि जिल्लामा आफै मिल्छ ।’ रिजालले भने,‘ उनीहरूको माग हामीले सम्बोधन गर्न सक्दैनौं ।’ सदस्यतामा केन्द्रले विवाद सिर्जना गरेको उनको धारणा छ ।
रिजाल जिल्ला अध्यक्ष नेपाल प्रेस युनियनबाट प्रतिनिधित्व गर्दै बनेका हुन् । जिल्ला कोषाध्यक्ष प्रज्वल पहाडी प्रगतिशील पत्रकार संघबाट प्रतिनिधित्व गरेका हुन् । तर महासंघकै कोषाध्यक्ष, जिल्लाका सदस्यहरू सहित प्यूठानको कार्यालयमा ताला लगाइएपछि महासंघ बेखवर जस्तै छ । पत्रकार महासंघ प्यूठानका पूर्व उपाध्यक्ष मेगराज भट्टले पत्रकार महासंघ नियमन हुन नसकेको बताएका छन । नियमन गर्ने निकाय नै कमजोर बनेपछी सामाजिक अभियान कमजोर बनेको उनको बुझाइ छ ।
महासंघले समानुपातिक तवरले सदस्यता नदिएको र पाउनुपर्ने पत्रकारले सदस्यता नपाएको कारण महासंघमा ताला लगाईएको नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारीले बताए । ताला खोल्न जिल्ला शाखाले कुनै चासो नदेखाएको उनको भनाइ छ । ‘ताला खोल्न महासंघको समन्वयकारी भूमिकै भएन’ भण्डारीले भने ।
महासंघ सबै नागरिकलाई विधी तथा पद्दती सिकाउने संस्था रहेपनि त्यसको मापदण्डमा महासंघ नरहेको पे्रस सेन्टर नेपाल प्यूठानका संयोजक टिकाराम पोख्रेलले बताए । सदस्यताको बिषयमा महासंघ प्यूठानले उस्तै प्रकृतीका राख्ने र उस्तै प्रकृतीका फाल्ने राजनीतिक पूर्वाग्रह राखेको उनको बुझाइ छ ।
प्यूठानमा पत्रकारको कार्यालयमा लगाएको ताल्चा नखुलाउदा सिङ्गो महासंघ नै कमजोर बनेको पत्रकार महासंघ प्यूठानमा पूर्व अध्यक्षहरूको गुनासो छ । जिल्लाका हरेक सूचनाहरूलाई सहज जनतामा पू¥याउन सञ्चालनमा ल्याइएको सूचना केन्द्र अलपत्र छ भने ताला खोल्न महासंघले कुनै चासो नदेखाउँदा सदस्यहरू चिन्तित छन् ।
त्यसैगरी पत्रकार महासंघको नविकरणमा विवादका कारण नयाँ पत्रकारहरू महासंघको सदस्य बन्न पाएका छैनन् । पत्रकार महासंघले क्रियाशिल पत्रकारलाई सदस्यता नदिनु दुःखद पक्ष भएको जिल्लाका अग्रज पत्रकारहरूको भनाइ छ । यसले गर्दा पत्रकारहरूको पेशागत मुद्धा उजागर गर्ने नेतृत्वदायी संस्थाको गरिमा गुम्दै गएको छ । सदस्यता सुद्दीकरण अभियानमा महासंघले दलीय कार्यकर्ता भर्ना गर्ने प्रवृत्ती देखिएको प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीले बताए ।
लामो समयदेखि पत्रकारीतामा क्रियाशिल रेडियो महिला आवाजकी स्टेशन म्यानेजर सुशिला बुढा मगर, यसअघी रेडियो माण्डवी, रेडियो रुकुमपुवमा काम गरेका र हाल रेडियो झुलेनीमा कार्यरत बिर बहादुर घर्ती (बिबश जि.एम.), रेडियो स्वर्गभूमिमा कार्यरत सन्तोष सुनार,रेडियो माण्डवीमा कार्यरत प्रमोद ओली, रेडियो स्वर्गभूमिमा कार्यरत बबिता रिजाल, राष्ट्रिय समाचार समितिका प्यूठान संबाददाता केशर सुनार, रेडियो झुलेनीमा कार्यरत भुवन सुनार, रामप्रसाद सुवेदी लगायत विभिन्न मिडियाका क्रियाशिल पत्रकारहरू महासंघको सदस्य छैनन् ।
पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजाल अध्यक्ष रहेको रेडियो माण्डवीमै ४ बर्षदेखी कार्यरत प्रमोद वलीले सदस्यता नपाएको गुनासो गरेका छन । ७ बर्षदेखी पत्रकारीता गर्दै आएका हाल रेडियो झुलेनीमा कार्यरत बिवस जिएम ले २ पटक सदस्यताको लागि निवेदन दिएपनि नपाएको गुनासो गरे । त्यस्तै ५ बर्षदेखी क्रियाशिल हाल रेडियो महिला आवाजकी स्टेसन म्यानेजर रहेकी सुशिला बुढामगरले सदस्यता नपाएकोमा गुनासो गरिन ।
सुर्खेत मापदण्डले गैरपत्रकारहरूलाई हटाउने र क्रियाशिल पत्रकारलाई सदस्यता दिने उदेश्यका लागि मापदण्ड बनाएपनि महासंघको प्यूठान शाखाले पुराना सदस्यको नविकरणका लागि गरेको सिफारिस बिबादित बनेको थियो । कार्यकालभरी एकजना पनि नयाँ पत्रकारले सदस्यता पाएका छैनन् । नेपाल पत्रकार महासंघमा कतिपय गलत नियत बोकेका मान्छेहरू प्रवेश गरेकाले सदस्यता शुद्धिकरण अभियान कार्यन्वयनमा समस्या देखिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्यूठान शाखाका पूर्वअध्यक्ष सुशील पोखरेलको भनाइ छ ।