© २०२३
बुटवल, १५ असोज ।
बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।
केही समयदेखि तिनाउ खोला किनारमा लागुऔषधको कारोबार भैरहेको भन्ने स्थानीयको सुचनाको आधारमा छापा मार्दा करिब ३ केजी गाँजा २ सय मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाजा बिक्री गर्न प्रयोग गरिदै आएको लु ४१ प ९१५७ नम्बरको स्कुटर, बुटवल ११ बस्ने सचिन क्षेत्री र भारत बिहार घर बताउने बलमन दासलाई समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताए ।
लागुऔषधको बिक्री वितरण हुने भन्ने सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । प्रहरीले स्कुटरको डिक्की र घरको कोठामा लुकाई राखेको करिब ३ केजी गाँजा, २ सय मिलीग्राम ब्राउनसुगर फेला पारेको प्रमुख पण्डितले बताए ।
पक्राउ परेका क्षेत्री र दासलाई लागुऔषध एन अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको प्रमुख पण्डितको भनाई छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलले २ सय ७० लिटर बढी घरेलु मदिरा नष्ट गरेको छ । अवैध रूपमा उत्पादन गरी बुटवलका विभिन्न ठाउँमा बिक्री गर्न ल्याउँदै गर्दा अवैध घरेलु मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।