© २०२३
सुनवल, १५ असोज ।
पश्चिम नवलपरासीमा अविरल वर्षापछि आएको बाढिले झन्डै २ हजार विगाहामा लगाईएको धान खेती डुबानमा परेको छ । भर्खरै पसाउँदै गरेको धान डुबानमा परेपछि किसान चिन्तीत भएका छन् । जिल्लाको पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर १ र ६ मा ८ सय र सरावल गाउँपालिकाको वडा नम्बर ६ र ७ मा १२ सय विगाहामा लगाईएको धान डुबेको छ ।
वर्षायाममा डुबानमा नपरेको क्षेत्रमा अहिले बाढि पसेपछि धान नष्ट हुने जोखिम देखिएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताए । डुबान क्षेत्रको स्थानीय तहले क्षतीको विवरण संकलन सुरु गरेको बताएका छन् । सरावलमा धनेवा खोलाको डिल बाढिले भत्काउदा धेरै क्षती भएको छ । यता भुजहवाको भारत संगको सिमावर्ती क्षेत्रमा झरही खोलाले कटान संगै डुबान भएको छ । पाल्हीनन्दन तर्फ तटबन्ध भएपनि सरावल क्षेत्रमा तटबन्ध नहुदा बाढि धान खेतमा पसेको हो । भुजहवा क्षेत्रमा तटबन्ध गर्न खोजेपनि स्थानीय प्रशासनले तटबन्ध गर्न रोक लगाउँदा धेरै क्षति भएको गाँउपालिका अध्यक्ष चौधरीले बताए । प्रमुख जिल्ला अधिकारीले तटबन्ध गर्न खोज्दा सिमावर्ती क्षेत्र भन्दै रोक लगाउनुभयो जसले गर्दा धेरै क्षती भयो सरावल गाँउपालिका अध्यक्ष चौधरीले भने ।
असार साउन र भदौ महिनामा डुबानको समस्या नभोगेका किसानलाई असोज महिनामा भारी वर्षाको समाना गर्नुपरेपछि किसानलाई लगानी समेत नउठ्ने चिन्ता थपिएको छ । धनेवा र झरही खोलाका कारण पाल्हीनन्दन र सरावल गाउँपालिकाका वर्षेनी डुबान हुने गरे पनि डुबान नियन्त्रणका लागी प्रभावकारी काम भने हुन सकेको छैन् ।
जिल्लामा अविरल वर्षाका कारण ३ सय घर डुबानमा परेका छन् भने एक दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । नारायणीपारीको सुस्ता गाँउमा झन्डै २ सय घरमा पानी पसेको छ । अझै पनि लेदो सहितको पानी बस्तीमा रहेकाले सुस्ताबासी समस्यामा छन् । कच्चि घर भएका स्थानिय धेरै पिडित भएपनि सो क्षेत्रका जनप्रतिनिधिले चासो नदिएको गुनासो गरेका छन् ।