© २०२३
सुनवल, १४ असोज ।
पश्चिम नवलपरासीको बर्दघाटबाट सशस्त्र प्रहरीले एक ट्रक अवैध समान बरामद गरेको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाटको चिसापानीबाट प्रहरीले भैरहवाबाट काठमाण्डौ तर्फ लादै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक सहित ६८ लाख बराबरको समान बरामद गरेको हो ।
चिनीको बिल बनाएर मोबाइलका विभिन्न सामग्री लैजाँदै गरेको अवस्थामा चालक र सहचालक सहित २ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिए । उक्त ट्रकमा ५० केजीका ६ सय बोरामा राखिएको १५ लाख बराबरको चिनी सहित १६ लाख बढीको १६ हजार १६० वटा मोबाइलको टेम्पर ग्लास, एक लाख बढीको ९५० वटा मोबाइल कभर र एक लाख बढीका विभिन्न प्रकारका भाडाकुँडा बरामद गरिएको वाग्लेले बताए ।
चिनीबाहेक अन्य सामानको बिल बिजक नभएका कारण सबै समान अवैध गणना हुने भएकाले महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । उक्त ट्रक कागजात सहितको चिनी बोकेर रुपन्देहीबाट भैरहवा भुमही हुलाकी सडक हँुदै आएको थियो । सो सडक खण्डमै बिचमा अवैध रुपमा आयात गरिएका सामग्री लोड गरेको पाइएको छ । सो क्षेत्रमा प्रहरीको बाक्लो चेक जाँच हुने गरेको भएपनि प्रहरीले भने बर्दघाट पुग्दा समेत मेसो पाउन सकेन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।