© २०२३
पाल्पा, १४ असोज ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण दर्जन बढी घरहरू जोखिममा परेका छन् । वर्षाका कारण गएको पहिरोले जिल्लाको तानसेन नगरपालिका–५, कैलाशनगरस्थित देउरालीको सुुकुुुम्वासी बस्तीमा १४, तानसेन–३ भगवतीटोलस्थित पुरानो पानी टंकी नजिकै र होलाङ्दी क्षेत्रमा तीन र तानसेन–बाँसटारी सडकखण्डमा तीन घर जोखिममा परेको प्रहरीले जनाएको छ । कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तीको तल्लो भाग सडक छेउबाट झरेको पहिरोले यहाँका १४ घरहरू जोखिममा परेका हुुन् । जोखिम न्युनिकरणका लागि वडा कार्यालयको पहलमा प्लाष्टिक र त्रिपाल लगाइएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जानुुको साथै सडक अवरुद्ध भएका छन् । ठूूलो स्केलमा झरेको पहिरोका कारण तानसेन–रिडी सडक खण्डको वनदेवी जनिकैको सडक समेत अवरुद्ध बनेको थियो । पहिरो पीडितलाई तानसेन नगरपालिकाले त्रिपाल व्यवस्थापन गरेको छ ।
यस्तै अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक अवरुद्ध बनेका छन् । पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएका छन् । पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो । यो समाचार तयार पार्दासम्म सडक खुुलाउने प्रयास भइरहेको छ । शनिबार दिनभर पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए ।