© २०२३
पश्चिम नवलपरासी, १२ असोज
पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध भत्काएर बस्तीमा पसेको छ ।
१ नम्बर ठोक्कर नजिकै सैनिक टोलबाट बाढी बस्तीमा पसेको हो । बिहान थारु टोलबाट बस्ती पसेको बाढी अहिले तटबन्ध भत्काएर बस्तीमा छिरेपछि सुस्तामा जोखिम बढेको छ । सुस्तामा अहिले २० घरमा बाढी पसेको छभने बाकि बस्ती पनि डुबानको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।
अहिले प्रभावित परिवारलाई सुस्तामा बनेको आश्रय स्थलमा राखिएको छ। बाढी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा बालुवा भरेर राख्ने काम भइरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिए ।
नारायणी नदीको गण्डक क्षेत्रमा पानीको सतह बढ्ने क्रममा रहेको छ। अहिले ५ लाख क्युसेक माथि पानीको बहाव रहेको जनाइएको छ। यस क्षेत्रमा पानी पर्न भने रोकिएको छ। जिल्लाको सरावल र पालीनन्दनमा २००० बिघा बढी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ भने बर्दघाटमा ९ वटा घर भत्किएको छ।