© २०२३
गुल्मी, १२ असोज ।
अबिरल वर्षाका कारण गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका ११ को उर्लेनी, गुल्मीदरबार गाउँपालिका ४ अन्तर्गत विरबास र छत्रकोट गाउँपालिका ३ अन्तर्गत लुम्छामा सडक माथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
त्यसैगरी रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका ६ स्थित डहरेखोलामा पानीको बहाव बढेको र चन्द्रकोट गाउँपालिका ८ अन्तर्गत मजुवा बजार नजिकै बाघ खोलामा सडक माथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि उक्त सडक समेत अवरुद्ध बनेको छ ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मी सडक खण्ड समेत अवरुद्ध बनेको छ । उक्त सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका ४ को पुर्तिघाटमा सडक माथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने लामो तथा छोटोदुरीका सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । सवारी साधनहरु सञ्चालन नहुँदा त्यस क्षेत्रका नागरिकहरु समस्यामा परेका छन । सडक सुचारु गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहेपनि वर्षा भैरहेको कारण सडक सुचारु गर्न पहल भैरहे पनि पहिरोको जोखिमका कारण सडक सुचारु गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।
लगातारको अविरल वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने दर्जनौ सडकहरु समेत अवरुद्ध बनेका छन् । लगातारको वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सतर्क रही सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरेको छ ।