© २०२३
नवलपुर, ८ असोज ।
पुर्वी नवलपरासीमा होटल व्यवसायी संघ, नवलपुरले जिल्ला भित्र रहेका होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुलाई खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी तालिम दिएको छ ।
ग्राहकलाई स्वस्थकर खाना खुवाउन र सम्मानजनक व्यवहार गर्न सिकाउनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कायर्यालय तनहुँका खाद्य प्राविधिक ज्योती आचार्यलाई बोलाएर तालिम दिइएको संघका जिल्ला अध्यक्ष सन्तोष राना मगरले जानकारी दिए ।
तालिममा कावासोती नगरपालिका, बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टका सञ्चालकको सहभागिता रहेको थियो । अन्य पालिकाहरुमा पनि यसैगरी तालिम दिएर होटल सञ्चालकलाई सचेत गराउने अध्यक्ष मगरले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले यसअघि जारी भएको आचारसँहिता पूर्णरुपमा पालना गर्न होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई आग्रह गरे । उनीहरुले दिने सेवा, सुविधा र गुणस्तरका आधारमा पर्यटक र ग्राहकलाई आकर्षित गर्ने भएकाले आचारसँहितालाई पालना गर्न पोख्रेलले आग्रह गरेका छन् ।
केही होटल व्यवहायीहरुलाई खानामा रङको प्रयोग सम्बन्धी सामान्य ज्ञान पनि नभएको भन्दै प्रजिअ पोख्रेलले यस्ता तालिमले सबैलाई सचेत गाराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जिल्ला होटल व्यवसायी संघले स्थानीय प्रशासन, प्रहरी, नगरपालिका, पत्रकार लगायतको रोहबरमा गत साउन १५ गते होटल तथा रेष्टुरेन्ट सञ्चालकले पालना गर्नु पर्ने २० बुँदे आचार सँहिता जारी गरेको थियो ।