© २०२३
सुनवल, २४ भदौ । हुलाकी सडक निर्माणमा चरम ढिलासुस्ती भएपछि जनप्रतिनिधिकै अगुवाईमा आन्दोलन सुरु भएको छ । पश्चिम नवपरासीको प्रतापपुर गाँउपालिकाको गोपिगंज देखि बेलाटारी सम्मको साढे ६ किलोमिटर सडकको अवस्था दयनिय हुदा समेत ठेकेदार र सम्बन्धित निकायले निर्माणमा चासो नदिएको भन्दै गाँउपालिका अध्यक्षकै अगुवाईमा आन्दोलन सुरु भएको हो ।
आईतबार नाराबाजी सहित जिल्ला प्रशासन कार्यालयमा पुगेको जनप्रतिनिधि, राजनैतिक दलका नेता कार्यकर्ता र प्रतापपुरका स्थानियको टोलीले दुई घण्टा धर्ना दिएर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । यस अघि पनि सो सडकको अवस्था बारे प्रतापपुर गाँउपालिकाले प्रधानमन्त्रीको ध्यानआर्कषण गराएको थियो । गाँउपालिकाको केन्द्र समेत सोहि सडक खण्डमा पर्ने भएकाले उक्त सडक खण्डको अवस्था जिर्ण भएको लामो समय हुदा सम्म पनि ठेकेदारले सडक निर्माणमा कुनै चासो नदिएपछि दबाब स्वरूप आन्दोलनमा उत्रनुपरेको गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । नारायणचोक त्रिवेणी खण्डमा पर्ने बेलाटारी सम्मको उक्त सडक विस्तार सुरु भएको ६ वर्ष हुदा समेत काम पुरा भएको छैन् ।
हालसम्म जम्मा ३५ प्रतिशत मात्र भएको भएको उक्त खण्डमा खाल्डाखुल्डी, हिलो र धुलोका कारण यात्रामा निकै कठिनाई हुने गरेको छ । गाँउपालिका अध्यक्ष यादवले पटक पटक प्रदेश सभा सदस्य, संघिय सांसद लगायत सरोकारवाला सहित आयोजना कार्यालय र ठेकेदारबिच समयसिमा भित्र काम सक्ने लिखित सहमति गरेपनि कामनै सुरु नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । सडक विस्तारको काम सुरु नभएपछि आज देखि चरणवद्ध आन्दोलनका कार्यक्रम सुरु गरिएको उनको भनाई छ । भदौ २५ देखि २७ गते सम्म ईलाका प्रशासन कार्यालय सेमरीमा जनप्रतिनिधि र स्थानिय रिले अनसन बस्ने र २८ गते देखि गाँउपालिका अध्यक्ष यादव आफै आमरण अनसनमा बस्ने लगायतका दबाबमुलक कार्यक्रम आईतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
गाँउपालिकाले सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने, चार महिना भित्र उक्त सडक खण्डको काम सक्नुपर्ने, अन्य संघिय सरकार मातहतका सडकका काम पनि समयमै सक्न माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले ठेकेदारलाई काम सुचारु गराउने विषयमा सचेत गराउने बताउनुभयो । तर सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै पटक पटक ठेकेदारसंगको छलफलमा सहभागि हुने प्रमुख जिल्ला अधिकारी स्वंयम यतिका दिन सम्म सडक निर्माणमा ढिलाई भएको भन्दै जनप्रतिनिधिनै आन्दोलनमा उत्रने तयारी भईरहदा समेत सम्बन्धि आयोजना कार्यालय र ठेकेदारलाई काम सुचारु गराउन भने प्रयत्नशिल देखिएकि छैनन् । संघिय सरकारको प्रतिनिधिको नाताले पनि उनले ठेकेदार र सम्बन्धित कार्यालयलाई सडकमा काममा खटाउनुपर्ने हो तर खासै वास्ता गरेजस्तो देखिएन, एक दलका नेताले भने ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठ संग बुझ्दा आफु छुट्टि मा भएकाले यस विषयमा पछिल्लो पटक कुनै छलफल नभएको बताउदै छिट्टै अब काम सुचारु गर्ने विषयमा छलफल गर्ने बताईन् । नवलरासीमा तिन खण्डमा विभाजन गरेर कुल १ अर्ब १ करोडको लागतमा हुलाकि सडक विस्तारको काम हुदै छ । तिन वटै खण्डको काम निकै सुस्त छ । सदरमुकाम परासी देखि नारायणचोक जोड्ने साढे १२ किलोमिटर सडक ८ वर्ष हुदा समेत अझै पुरा भएको छैन् । ९ किलोमिटर लामो प्रतापपुर कठहवा जोड्ने सडक विस्तारमा पनि उस्तै ढिलासुस्ती छ । जिल्लाका राजनैतिक दल र सातै पालिकाका प्रमुख तथा अध्यक्षले उक्त आन्दोलनमा एक्यवद्धता जनाएका छन् ।