© २०२३
सुर्खेत, २३ भदौ ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव निकालिएको छ । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति गएको पहिरोले उनीहरूको घर पुरेको थियो । प्रहरीका अनुसार पहिरोले पुरिएका ३८ वर्षीय प्रेम कुमारी र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउनेको शव निकालिएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाएर शव निकालिएको हो । धुमा गाउँ निवासी उनीहरूको एक छोरी घाइते भएकी छिन् । ११ वर्षीय सम्झनालाई हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।
वडा सदस्य दम्पतीको शव पोस्टमार्टमका लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोले पुरिएका दम्पतीको शव आइतबार बिहान ११ बजेको समयमा फेला परेको हो । आज बिहान तीन बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य चलाउनेको पतिपत्नी नै बेपत्ता भएका थिए ।