© २०२३
नेपालगञ्ज, १७ भदौ ।
झाडापखालाबाट बाँकेमा आइतबार चार जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर–३ गेगली गाउँमा एक्कासी फैलिएको झाडापखालाबाट चार जनाको मृत्यु भएको हो । झाडापखालाबाट हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी डेड वर्षकी नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको झाडापाखाका कारण मृत्यु भएको नरैनापुर–३ का वडाअध्यक्ष अजय मिश्राले जानकारी दिए ।
नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले भारतीय सिमासँग जोडिएको उक्त गाउँमा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार गरिरहेको जानकारी दिए । यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले झाडा पखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिईएको बताए ।
झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको अध्यक्ष शाहले जानकारी दिए । अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडापखाला फैलिएको हुन सक्ने स्वाथ्यकर्मीको भनाई छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।