© २०२३
नेपालगञ्ज, १६ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अबैध तरिकाले गठन भएको आरोप लगाएका छन् । वर्तमान सरकार काँग्रेस र एमालेले चाहेर बनेको नभई अरु कसैले बनाईदिएको उनले आरोप लगाए ।
‘यो सरकार बिचौलियाको सरकार हो । प्रेस सेन्टर बाँकेले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने – ‘हिजो भर्खर प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाले दिएको अभिब्यक्तिले पनि यो सरकार अबैध छ भन्ने कुरा प्रष्ट हुन्छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारलाई सडकबाट प्रतिकार गर्ने चेतावनी दिएका छन् । ‘यो सरकार अबैध छ, हामी सडकबाट प्रतिकार गर्छौं, त्यो प्रतिकार शान्तिपूर्ण हुनेछ ।’
आफू नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टाचारलाई नियन्त्रण गरेको दावी गर्दै भ्रष्टलाई बचाउन यो सरकार बनेको प्रतिक्रिया दिए । काँग्रेस र एमालेले बलमिच्याई गरेर अपारदर्शी रुपमा आफूलाई प्रधानमन्त्रीबाट हटाएपनि विश्वका धेरै देशहरुले प्रधानमन्त्रीकै रुपमा हेरिरहेको अध्यक्ष प्रचण्डले बताए । उनले भन,े ‘कतिपय देशले त प्रधानमन्त्री पदबाट हटिसकेपछि पनि प्रधानमन्त्रीलाई दिनु पर्ने चिठ्ठी प्रत्यक्ष भेटेर मलाई नै दिए ।’
बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न उनले सरकारलाई सुझाव समेत दिए् । ‘यस विषयमा पार्टीभित्र बहस र छलफल भइरहको छ, प्रचण्डलाई नै नेतृत्वमा देख्न चाहेका छन्, यहाँहरुले नयाँ नेतृत्व पाउनुहुनेछ,’ उनले भने । अर्को प्रसंगमा बोल्दै उनले भने, ‘बाहिर हल्ला चलेको जस्तो नभई स्थायी कमिटीको बैठक सम्म आईपुग्दा हाम्रो पार्टी एक ढिक्का छ र अझै मजबुद हुनेछ ।’ आफ्नै पार्टीका नेता कार्यकर्ताहरुद्वारा अध्यक्ष पदबाट हलचल नगर्न सुझाव आइरहेको उनले बताए । ‘आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन । मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन ।
अध्यक्षभन्दा म माथि भइसके । टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोँच बनाएको छु’, अध्यक्ष प्रचण्डले भने । माओवादी अब जनतामा केन्द्रित हुने उनले बताए । माओवादी जनताकै मुद्दा बोकेर आए र अहिले पनि जनताकै साथमा रहेको दाहालले बताए । पार्टीले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्न उनी नेपालगन्ज आएका हुन ।