© २०२३
सुनवल, ११ भदौ ।
पश्चिम नवलपरासीको रामग्राम बाट प्रहरीले एक सय तिस किलो रक्तचन्दन सहित एक जनालाई पक्राउ गरेको छ ।नेपाल प्रहरी, शसस्त्र प्रहरी र महेसपुर भन्सारको संयुक्त टोलीले गएराती रामग्राम ८ लोसहडाबाट घरमा लुकाईराखेको अवस्थामा उक्त परिमाणमा रक्तचन्दन बरामद गरेको हो । विशेष सूचनाको आधारमा मध्यरातमा छापा मार्ने क्रममा प्रमोद गिरीको घरको कोठामा खाटमुनी बोरामा लुकाएर राखेको अवस्थामा ८१ वटा गोलिया रक्तचन्दन बरामद भएको महेसपुर भन्सार कार्यालयका प्रमुख वुद्धि कुमार चुँडालले जानकारी दिए ।
बरामद भएको रक्तचन्दन डिभिजन वन कार्यालय परासीमा बुझाईएको छ । वन कार्यालयले पक्राउ परेका गिरी विरुद्ध संकटापन्न वन्यजन्तु तथा वनस्पतीको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन (संशोधन २०७५) वमोजिम मुद्दा दायर गर्ने जनाएको छ । उक्त कसुरमा एक देखि पाँच वर्ष सम्म कैद वा एक लाख देखि पाँच लाख सम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको वरिष्ठ वन अधिकृत मेघनाथ काफ्लेले बताए ।
वन्यजन्तु तथा वनस्पतिको व्यापार नियमन र नियन्त्रण गर्ने विश्व महासन्धि ‘साइटिस’को अनुसूची–२ मा अङ्कित गरिएका बनस्पतीको व्यापार गर्न पाईदैन् । यस अनुसूचीभित्र परेका बिरुवाको व्यापार गर्नु परेमा आयातकर्ता तथा निर्यातकर्ताले आ–आफ्नो देशका ‘साइटिस’ अधिकारीबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । दुर्लभ वनस्पती रक्तचन्दन भारत हुँदै नेपाल बाट चिन तर्फ तस्करी हुने गरेको छ । एक किलो रक्तचन्दनको बिस हजार रूपैयाँ सम्म पर्ने गरेको बताईएको छ ।
यसैबिच साईटिस महासन्धि अनुसार बरामद भएको वस्तु उत्पत्ति भएको मुलुकमै फिर्ता गर्नुपर्ने प्रावधान छ । जसका कारण भारतलाई रक्तचन्दन फिर्ता लिन पहल गरेपनि नलैजादा वन कार्यालयको गोदाममा यसअघिकै ७६ क्वीन्टल रक्तचन्दन त्यसै थन्किएको छ ।