© २०२३
प्युठान,०८ भदौ ।
बाँझो जमिनमा कोदो रोप्ने अभियान थालिएको छ । प्युठानको गौमुखी गाउँपालिका–५ को वडा कार्यालयले गाउँमा बाझिएका जमिनलाई प्रयोग गरी उत्पादन गर्ने अभियान चलाएको हो ।
गाउँका अगुवा तथा समाजसेवीहरूले स्वेच्क्षिक रूपमा श्रमदान र केही मजदुरको रूपमा काम गरी गाउँको बाँझो जमिनमा कोदो खेती गरिएको हो । वर्षेनी खेतीयोग्य जमिन बाँझो हुँदै जाँदा उत्पादन घट्ने समस्या निम्तिन नदिन वडाले अभियान सञ्चालन गरेको वडा अध्यक्ष वरुणध्वज मल्लले जानकारी दिए । ‘वढ्दो बसाइसराई र वैदेशिक रोजगारीले जग्गाहरू बाँझीन थालेपछि कृषि उत्प्रेरणाका लागि अभियान चलायौं’ मल्लले भने,‘यसले अन्य बाँझीएका जमिनलाई उत्पादनमा जोड्ने विश्वास लिएका छौं ।’ खुङ कोदो उत्पादन हुने दृष्टिले राम्रो मानिन्छ तर पछिल्लो समय कोदो फल्ने बारीहरू बाँझै हुन थालेका छन् । गाउँमा कोदो उत्पादन हराउने डर छ ।
पछिल्लो समयमा बाँझीएका जमिनमा कोदो रोपण गरी उत्पादनमा जोड्दा युवा पुस्तामा कृषि पेशा प्रति उत्प्रेरणा जाग्ने आशामा गाउँका पाका पुस्ता छन् । वर्षौदेखी खेती नगरेर बाझो बनेका जग्गा खोजेर वडा कार्यालयले यो वर्षदेखि खेती गर्ने अभियान नै चलाएकोमा स्थानीय रविन्द्र मल्लले खुशी व्यक्त गरे । उनले किसानबाट चल्नु पर्ने अभियान वडाबाट चलेपनि युवा पुस्तामा उत्प्रेरणा मिलेको बताए ।
बाँझो जमिनमा उव्जनीका लागि वडा कार्यालयले रु १ लाख वजेट विनियोजन गरेको छ । स्थानीयको बाझो जग्गा खनजोत गरेर वडाले कोदो लगाएको छ । केही खेतबारीमा कोदो रोपिएको र केही ठाउँमा बीऊ रोप्न बाँकी रहेको छ । कोदो राप्ने अभियानमा नसमेटिएका बाँझा जग्गाहरू जौं, अदुवा, बेसार, फलफूल लगाउने योजना रहेको मल्लले जानकारी दिए । बाझो जमिनमा खेती गरेर खेती गर्न योग्य बनाउने र जग्गाधनीलाई नियमित खेती गर्नका लागि आग्रह गर्ने वडाको योजना रहेको छ । उत्पादन भएको अन्न काम गरेका कामदारलाई, घरधनीलाई उपहार स्वरूप दिएपछि बचेको अन्न वडाको आम्दानीको रूपमा राखिनेछ । सो आम्दानीलाई किसान प्रोत्साहनमा नै लगाउने उद्देश्य रहेको मल्लको भनाइ छ ।
पछिल्लो समय गाउँका धेरै जमिनहरू बाँझिदै गएका छन् । वैदेशिक रोजगारीले युवापुस्ता गाउँमा नहुने, भएका युवाले कृषिमा समय नदिने, वन्यजन्तु लगायतका क्षति गर्ने जीवजनावरले सताउने लगायतका समस्याले कृषिमा आकर्षण घट्दै गएको छ । वडाले सञ्चालनमा ल्याएको अभियानमा स्थानीय किसानले नपक्रिने हो भने अनुदान र अभियान प्रभावकारी नहुने स्थानीयको धारणा छ ।