© २०२३
बुटवल, ३१ साउन ।
लुम्बिनी प्रदेशमा ३३/११ केभी वितरण सवस्टेशनको क्षमता ३६५ एमभीए पुगेको छ । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्ममा ३३/११ केभी सवस्टेशनको संख्या २५ पुगेको छ ।
विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर भन्दा बढी पुगेको छ ।
त्यस्तै ३३ केभी प्रसारण लाइनको लम्बाई १३ सय ५७ सर्किट किलोमिटर पुगेको छ भने ११ केभी प्रसारण लाइनको लम्बाई ४ हजार ८३० सर्किट किलोमिटर पुगेको प्राधिकरणको प्रादेशिक कार्यालय बुटवलले जनाएको छ ।
आयोजनाका अनुसार गत आर्थिक वर्ष एलटी (बत्ती बाल्ने) लाईनको लम्बाई १४ हजार ८४७ किलोमिटर पुगेको छ । प्राधिकरणले लुम्बिनी प्रदेशमा ६ हजार ९६६ वटा ट्रान्सफर्मर जडान गरेको छ भने वितरित ट्रान्सफर्मरको क्षमता ९१७ एमभीए रहेको छ ।
प्राधिकरणका प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेका अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्ममा यो प्रदेशमा जम्मा ग्राहकको संख्या ५ लाख ५१ हजार ८३६ पुगेको छ । यो गत आर्थिक वर्षको भन्दा ३.६७ प्रतिशत बढी हो । त्यस्तै गएको वर्ष प्राधिकरणले १ अर्व ४५ करोड ९३ लाख २१ हजार युनिट विद्युत बिक्री गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा ११.०८ प्रतिशत बढी हो । उक्त परिमाणको विद्युत बिक्री बापत प्राधिकरणले १३ अर्व ९१ करोड ७२ लाख ४ हजार रुपियाँ राजश्व संकलन गरेको छ । जुन गत आर्थिक वर्ष भन्दा ११.७२ प्रतिशत बढी हो ।
त्यस्तै प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा कालोसूचीमा रहेका ग्राहकबाट २ करोड ६१ लाख २५ हजार ४७० रुपियाँ असुली गरेको छ । गत वर्ष प्राधिकरणले लुम्बिनी प्रदेशमा करिव ३ हजारवटा थ्रीफेज ग्राहकको मिटरलाई निःशुल्रुपमा अनलाइन स्मार्ट मिटरले विस्थापित गरेको प्राधिकरण प्रमुख पाण्डेले जानकारी दिए । प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गत सबै वितरण केन्द्रमा काम नलाग्ने पुराना सामानहरुको लिलामी समेत प्राधिकरणले अघि बढाएको छ ।
प्राधिकरणका प्रमुख पाण्डेले प्रादेशिक कार्यालय अन्तर्गत प्रसारण लाइन निर्माणमा ठूलो फड्को मारिएको बताए ।