© २०२३
लमही, ३१ साउन ।
देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्र बहादुर उर्फ श्याम कुमार कुमालको कुटपिटबाट उनको श्रीमती अन्दाजी ४० इश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो । यो मंगलबार राती करिब ८ बजेतिरको घटना हो ।
कुटपिटबाट मृत्यु भएकी श्रीमतीलाई बाटोमा छोडेर श्रीमान श्याम कुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मृतकका श्रीमान श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिए।
स्थानीयका अनुसार कुमाल दम्पति दैनिक जसो मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने, कुटपिट सम्म गर्ने गर्दथे । इश्वरीको शवलाई लमही अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ । उनीहरुका तीन छोरी एक छोरा रहेका छन् ।