© २०२३
नेपालगञ्ज, २४ साउन । घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरूद्ध पारेका छन् । स्थानीयले राजमार्ग अवरूद्ध पारेको हुँदा डाइभर्सन गरी सवारी चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । स्कूल बसको ठक्करबाट बाँकेमा एक युवक सहित दर्जनौं खशी बाख्राको मृत्यु भएको छ । कोहलपुरको चपरगौडी स्थित ज्ञानपुञ्ज बोडिङ स्कूलको ना ४ ख ४५७० नम्बरको बसले पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी नजिक झिझरी खोलाको ओरालोमा बिहिबार अपरान्ह साढे ४ बजे ठक्कर दिँदा राप्ती सोनारी ९ ढकेरीका २६ बर्षिय युवक गोविन्द ओलीको घटना स्थलमै मृत्यु भएको हो । मृतकको शव आफन्तले घटना स्थलबाट उठाउन नमानेको प्रहरीले जनाएको छ ।
ओली बाख्रा चराएर घर तर्फ लैजाँदै गर्दा पछाडिबाट आएको स्कूल बसले ठक्कर दिँदा उनी सहत १३ वटा खशी बाख्राको पनि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । प्रहरीका अनुसार ६ वटा खशी बाख्रा घाईते भएका छन् । घटना लगत्तै बस चालक फरार रहेको र नियन्त्रणमा लिन प्रहरीले समन्वय गरिरहेको डिएसपी डाँगीले बताए । विद्यालय छुट्टी भएपछि विद्यार्थी छोड्न ढकेरी तर्फ जाँदै गरेको बसले बाख्रा ग्वाला गएका ओली सहित खशी बाख्राको बथानलाई नै ठक्कर दिएको प्रहरीले जनाएको छ ।