© २०२३
बुटवल । सामाजिक कार्यमा अग्रसर रहेको लायन्स क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ बुटवलको ३९ औ वार्षिकोत्सव तथा लायन्स एरिया ३ रिजन ७ अन्तरगत जोन १६ र १७ का क्लबहरुको आइतबार एक समारोह बिच संयुक्त पदस्थापन तथा नया सदस्य परिचय कार्यक्रम गरिएको हो ।
कार्यक्रममा डिस्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले सामाजिक र मानवीय भावका साथ काम गर्न क्लब तथा क्लबका सदस्यहरुलाई आग्रह गरे । आपसी सद्भाव र सहकार्यले नै सफलता प्राप्त गर्न सकिने बताउँदै उनले सामुहिक एकतामा जोड दिए ।
कार्यक्रममा मल्टिपल डिष्ट्रिक मार्केट कोअर्डिनेटर अरुणप्रताप राणा, जीएमटी कोर्डिनेटर दिपक कुमार श्रेष्ठ लगायतले बोल्दै लायन्स क्लबमा थप सदस्यहरुलाई आवद्धता दिलाउन जोड दिएका थिए । वर्षभरीनै रचनात्मक क्रियाकलाप गरेर क्रियाशिल हुनुका साथै सदस्यहरुको सङ्ख्या र क्लबको सङ्ख्या समेत वृद्धि गर्दै जानुपर्नेमा उनीहरुले जोड दिए ।
जोन १६ अन्तरगत लायन्स क्लब अफ बुटवल क्षितिज, लायन्स क्लब अफ तिलोत्तमा, लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योती र लायन्स क्लब अफ बुटवल विपना एक्सलेन्स गरी ४ वटा क्लब रहेका छन् भने जोन १७ अन्तरगत लायन्स क्लब अफ बुटवल फूलबारी, लायन्स क्लब अफ लुम्बिनी इन्जिनीयर्स र लायन्स क्लब अफ बुटवल सनराइज गरी ३ वटा क्लब रहेका छन् ।
कार्यक्रममा रिजन ७ का चेयर पर्सन वैकुण्ठ श्रेष्ठ, जोन १६ का चेयर पर्सन राजिव श्रेष्ठ, लायन्स क्लब अफ बुटवल फूलबारीका अध्यक्ष महेन्द्रकुमार भारीले क्लबलाई मितब्ययी र उदाहरणीय हुने गरि कार्यक्रम शुरु गरिएको बताए । कार्यक्रममा लायन्स क्लब अफ बुटवल क्षितिजका आविष्कार खनालले विभिन्न क्लबमा १० जना नयाँ सदस्यहरुलाई स्वागत गर्दै सदस्यबाट निर्वाह गर्नुपर्ने दायित्व र भुमिकाबारे प्रकाश पारे ।