© २०२३
प्युठान, २१ साउन ।
(बुटुस)– पाँच वर्ष अघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जि.सी.लाई आफ्नो गाउँ स्वर्ग लाग्छ । हुन त आफ्नो जन्मघर कसलाई स्वर्ग लाग्दैन र ? त्यहि पनि उनी आफ्नै गाउँमा कृषि गरी मनग्य आम्दानी हुँदा आफ्नो गाउँ स्वर्ग ठानेको बताउछन् ।
जिल्लामा किसानहरू कृषि कर्ममा टिकेको पाइदैन । केही त अनुदान लिएको अर्को वर्ष देखि नै फर्म बन्द गरेर विदेशीएका पनि छन् । तर सन्तोष भने प्रत्येक वर्ष नाफा बृद्धि गर्दै लैजाँदा खुशी छन् । मासिक लाख भन्दा वढी तलव छाडेर आइ कृषि पेशा अँगालेका जि.सी.ले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीं नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।
विदेशमा जति कमाइ भएपनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफु विदेशबाट फर्केर कृषिमा लागेको जि.सी. बताउछन् । जि.सी.ले संयुक्त अरव इमिरेट्सको दुवई अल्कुजमा पाँच वर्ष कम्पनिमा काम गरेर नेपाल फकिएका हुन् । हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारी खेती गरेर उव्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारी खेति गर्ने योजना बुनेका हुन् ।
जि.सी.को ८ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारी खेति रहेको छ । त्यो मध्ये करिव ३ रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटर खेति गरिएकोमा टमाटरबाट एक सिजनमा करिव ३ लाख बराबर विक्री गरेका छन् । श्रीमति हिमा के.सी.जि.सी.ले गाउँकै आधारभुत तहको शिक्षण गरी विहान वेलुका सघाएकी छन् भने स्थानीय चार महिलालाई रोजगारी प्रदान गरेका छन् ।
जि.सी. कृषि फर्मको रूपमा रु ५० हजारबाट बारीमा तरकारी खेती शुरुवात गरिएकोमा वर्षेनी आम्दानी वृद्धि गर्दै हाल रु ८ लाखको लगानी रहेको छ । तरकारीबाट वर्षेनी उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछन् ।
जि.सी.का दम्पत्ति सहित बुबा, आमा, तीन छोरी गरी ७ जनाको परिवार रहेको छ । ‘२०८० मा सबै खर्च कटाएर वार्षिक ६ लाख नाफा भएको छ,’ जि.सी.ले भने,‘ काममा स्वतन्त्रता सङ्गै मनग्य आम्दानी हुँदा विदेश भन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।’ २०७९ मा साढे चार लाख जति नाफा भएकोमा यस वर्ष उत्पादन समेत वृद्धि र टनेल मार्फत खेति गर्दा उत्पादनमा वृद्धि भएको बताउँछन् ।
जि.सी.ले टमाटर, भिण्डी र वोडी लगाइएकोमा अव खुसार्नी र भेडेखुसार्नी लगाउन व्याड तयार गरेका छन् । उनले वार्षिक आगामी वर्ष ७ लाख वचत हुने गरी उत्पादनमा लागेको योजना सुनाए ।
जि.सी.लाई दुई वर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्याक्टर अनुदानमा पाएकोमा यस वर्ष टनेलका लागि रु २ लाख ७० हजार अनुदान पाएका थिए ।
जिल्लामा कृषि उत्पादनको वजारीकरणमा समस्या देखिएपनि जि.सी.ले तरकारी व्यवसायी संग प्रत्यक्ष कारोवार गर्ने हुँदा वजारको अभाव छैन् । प्युठानका विजुवार, बाग्दुला, क्वाडी, खलंगाका तरकारी पसलहरूमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीहरूले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानहरूलाई मार नपर्ने उनको भनाइ छ ।