© २०२३
बुटवल, १९ साउन ।
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सियारीमा बृहत स्वास्थ्य शिविर कार्यक्रम भएको छ । एडमण्ड सिटी अस्पतालको प्राविधिक सहयोगमा शनिबार सियारी गाउँपालिका स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा ६०० भन्दा बढीले सेवा लिएका थिए ।
जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईं, क्लबका अध्यक्ष देविराम पाण्डेले कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष चापागाईंले स्वास्थ्य शिविरको आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिदै निरन्तर रुपमा सामाजिक कार्यमा लाग्न आग्रह गरे ।
सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले गाउँपालिकावासीको स्वास्थ्यप्रति पालिका सचेत हुनुका साथै आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । एडमण्ड सिटि अस्पतालका व्यवस्थापक मुक्ति काफ्लेले स्वास्थ्य शिविरमा चेकजाँच गर्दा स्वास्थ्यमा समस्या देखिए त्यस्ता विरामीलाई ओपिडी टिकट निशुल्क गर्नुका साथै अन्य सेवामा पनि छुट दिइने बताए ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन चिकित्सक एवं रोटरी क्लव तिलोत्तमा रुपन्देहीका सदस्य डा. नन्दु पाठक, स्त्री तथा प्रसुति रोग बिशेषज्ञका रुपमा डा. सतिष रुपाखेती, हार्डजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नी प्रत्यारोपण बिशेषज्ञका रुपमा प्रा. डा. प्रकृतिराज कंडेल, पेट, छाती मुटु रोग बिशेषज्ञ एव जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गूप्ता लगायतका लगायका डाक्टरहरुले विरामीहरुको स्वास्थ्य चेकजाँच गरेका थिए ।
स्वास्थ्य शिविरमा सर्जरी, भिडियो एक्सरे, बालरोग, जर्नल फिजिशियन, दाँत रोग, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नशा रोग र एच आई भि लगायतको स्वास्थ्य चेकजाँच गरिएको क्लबका सचिव अर्जनुप्रसाद आचार्यले बताए । सियारी गाउँपालिकाको सहयोगमा भएको स्वास्थ्य शिविरमा रोट्¥याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्¥याक्ट क्लब अफ शुद्धोधन र रोट्¥याक्ट क्लब अफ तिलोत्तमा देवदह सह आयोजकको रुपमा रहेका थिए ।