© २०२३
पाल्पा, १८ साउन ।
रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायिक समितिमा छलफलका लागि विभिन्न विवादका उजुरी दर्ता भएका हुन् ।
नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विववाद, सम्बन्ध विच्छेद, महिला बालबालिका यौन तथा घरेलु हिंसा, पारिवारिक विवाद, व्यक्तिवादी, ज्याला नदिएको, कुलो, बाटो, साँध सिमा, खानेपानी सम्बन्धी विवादका उजुरी न्यायिक समितिमा छलफलका लागि दर्ता भएका छन् । जसमध्ये सबै भन्दा बढि जग्गा विवादका उजुरी दर्ता भएको पाइएको छ ।
यो आर्थिक वर्षमा २५ वटा जग्गा विवाद, व्यक्तिवादी उजुरी २३ वटा, सम्बन्ध विच्छेद सम्मको अवस्था पुगेका उजुरी १२ वटा, कूलो बाटो ,साँध सिमाना, खानेपानीका ११ वटा उजुरी, पारिवारिक विवादका ७ वटा, महिला बालबालिका यौन तथा घरेलु हिंसाका ५ वटा, ज्याला नदिएको ४ वटा उजुरी दर्ता भएको न्यायीक समितिका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताईन् ।
दर्ता भएका उजुरी मध्ये ५५ वटा उजुरीको मेलमिलाप गरिएको, २ वटा उजुरी फिर्ता लिएको, ३ वटा उजुरी जिल्ला अदालतबाट फैसला भई टुंगिएको गरी ६० वटा उजुरी टुंगिएको छ भने १७ वटा उजुरी प्रक्रियामा रहेको संयोजक थापाले बताईन् ।
यस्तै ९ वटा उजुरी छलफल हुन बाँकी रहेको र सम्बन्ध विच्छेद सम्मको अवस्थाको एउटा उजुरी सम्पर्कमा नआएको उनले जानकारी दिए । न्यायिक समितिमा दर्ता भएका विवादका उजुरीलाई छलफलको माध्यमबाट दुवै पक्षलाई मेलमिलाप गरि पठाईएको बताईन ।
“नगर स्तरीय न्यायीक समिति र वडामा रहेका मेलमिलापकर्ता मार्फत विभिन्न विवादका दुवै पक्षलाई मेलमिलाप गराईएको छ “न्यायिक समिति संयोजक थापाले भनिन्– ‘दुवै पक्ष सन्तुष्ट हुने किसिमले धेरै विवादको समाधन गरेका छौँ ।’ छलफलको माध्यमबाट विवाद समाधानका लागि दुवै पक्ष सहमति भए पनि कार्यान्वयनमा समस्या रहेको थापाले बताईन् ।
“मेलमिलाप हुन्छ तर केही उजुरीको कार्यान्वयनमा समस्या छ यसको कारवाही प्रक्रिया थाह नहुँदा अन्यौलमा छौँ “–उनले भनिन्– न्याय सम्पादन प्रति नगरबासीको विश्यवसनीयताका कारण पनि धेरै विवादहरू न्यायिक समितिमा छलफलका लागि आउने गरेको संयोजक थापाले बताएका छन ।
न्यायिक समितिमा दर्ता भएका उजुरी मध्ये १० वटा उजुरी वडा -वडामा रहेका मेलमिलापकर्ता मार्फत मेलमिलाप गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा भएका विभिन्न विवादलाई स्थानीयस्तरमै समाधान गर्नका लागि १० वटै वडामा मेलमिलाप केन्द्र रहेको छ । साथै विगतमा १९ जना मेलमिलापकर्ता रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा १८ जना मेलमिलापकर्ता थप गरी ३७ जना मेलमिलापकर्ता तोकिएको छ भने मेलमिलापकर्ताहरूलाई मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम समेत प्रदान गरेको थियो । गाउँ तथा टोलमा भएका विवादलाई छलफलको माध्यमबाट मेलमिलाप गराउनका लागि वडामा भएका मेलमिलाप केन्द्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लगिने नगरपालिकाले जनाएको छ ।