© २०२३
गुल्मी, ३ कात्तिक ।
गुल्मीको इस्मा गाउँपालिकामा सञ्चालन भएको अध्यक्ष कपको उपाधि ईस्मा गाउँपालिका वडा नं. ५ ले हात पारेको छ । पालिकाको आयोजनामा असोज ३१ देखि वडा नंं २ अन्तर्गत छल्दिको पालुखा माविमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो ।
गाउँपालिकास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगितामा खुल्ला पुरुष भलिबल, खुल्ला पुरुष फुटबल र खुल्ला महिला भलिबल तथा खुल्ला फुटसल प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रममा पुरुष फुटबल प्रतियोगितामा वडा नं. २ प्रथम र वडा नम्बर ५ द्वितीय भएका छन् । त्यस्तै महिला फुटसल प्रतियोगितामा वडा नं. ५ प्रथम भएको छ भने पुुरुष भलिबल प्रतियोगितातर्फ वडा नं. ४ प्रथम र वडा नं ५ द्वितीय भएको छ । महिला भलिबलमा वडा नम्बर ४ प्रथम र वडा नम्बर ५ द्वितीय बनेका थिए ।
कार्यक्रममा भलिबल तर्फबाट विजयी हुने पुरुष एवं महिला टिमलाई गाउँपालिका अध्यक्ष भगतसिंह खड्का र उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले २०÷२० हजार र उपविजेता हुने टिमलाई १५÷१५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै फुटबल तर्फको खेलमा प्रथम हुने पुरुष टिमलाई २० हजार र उपविजेता टिमलाई १५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला फुटसल प्रतियोगितामा प्रथम हुने टिमले २० हजार नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले बताए ।
गाउँपालिका भित्र खेलक्षेत्रको विकास गर्नका लागि खेलाडीहरुलाई खेलक्षेत्रमा आकर्षित गर्दै उनीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । असोज ३१ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न खेलमा गरि १९ टिमको सहभागिता रहेको थियो ।