© २०२३
सुनवल, १४ साउन ।
पश्चिम नवलपरासीमा एक वर्षको अवधिमा ९० वटा सवारी दुर्घटनाबाट ३० जनाको मृत्यु भएको छ । सबैभन्दा बढि दुर्घटना र मानविय क्षति दुई पांग्रे सवारी साधन दुर्घटनाबाट भएको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा भएका दुर्घटना मध्ये ९० वटा मोटरसाईकल मात्र छन् भने ३२ वटा चार पांगे्र सवारी साधन र ८ वटा अटो रिक्सा लगायत अन्य सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परि १ सय ३७ जना घाईते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा दुर्घटना संख्या वृद्धि भएपनि मानविय क्षति भने कम छ । अघिल्लो आर्थिक वर्षमा ७४ वटा सवारी दुर्घटनामा ८१ जना घाईते र ४० जनाको मृत्यु भएको थियो । नारायणगढ बुटवल सडक खण्डको जीर्ण अवस्था, मादक पदार्थ सेवन गरी सवारी चलाउनु लगायत सवारी साधनको अवस्था र चालकको लापरवाहीका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजु खत्रीले जानकारी दिए । गत आर्थिक वर्षमा सबैभन्दा बढि दुर्घटना असोज र बैशाख महिनामा भएको छ । नयाँ वर्ष तथा चाडवाडको समयमा बढि दुर्घटना हुने गरेको पाईएको छ । पछिल्ला चार वर्षमा पश्चिम नवलपरासीमा भएका ५ सय ४५ वटा दुर्घटना बाट १ सय ५५ जनाको मृत्यु भएको छ भने ७ सय ८२ जना अंगभग तथा घाईते भएका छन् ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा राजश्व संकलनमा भने वृद्धि गरेको छ ।
एक वर्षको अवधिमा कुल २७ हजार ४ सय २० वटा सवारी कारवाहीबाट १ करोड ७८ लाख ६२ हजार राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा गत वर्ष भन्दा २ सय ६४ वटा थप सवारी कारवाही भएकोमा १ करोड ६८ लाख ८२ हजार मात्र राजश्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व संकनल ५ दशमलव ८० प्रतिशतले वृद्धि भएको ट्राफिक प्रमुख खत्रिले बताए ।
जिल्लामा मादक पदार्थ सेवन मापसे र लागुपर्दाथ सेवन लापसे गरी सवारी चलाउने माथि ट्राफिक प्रहरीको निगरानी भने कमजोर छ । एक वर्षको अवधिमा प्रहरीले जम्मा ८४ जना मापसे गरी सवारी चलाउनेलाई कारवाही गरी ८४ हजार राजश्व संकलन गरेको छ । लापसे तथा मापसे सेवन गरी सवारी चलाउदा ठाँउ ठाँउमा दुर्घटना हुने गरेको भएपनि यसतर्फ प्रहरीले निगरानी गर्न नसकेको सरोकारवालाहरूको गुनासो छ । यसैगरी ट्राफिक प्रहरीले दुर्घटना न्युनियकरणका लागी एक वर्षको अवधिमा १८ सय ६८ वटा जनचेतनाका कार्यक्रम पनि गरेको जानकारी दिएको छ ।