© २०२३
नवलपुर, साउन ११ गते । नारायणघाट–बुटवल सडक खण्डको पुन म्याद थप भएको छ । सरकारले म्याद सकिएको दुई दिनपछि नारायणघाट–बुटवल सडक खण्ड विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप गरेको छ । अहिले तेस्रो पटक म्याद थप भएको हो । यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि आठै गतेदेखि लागु हुने गरी १० गते एक वर्षका लागि म्याद थपिएको सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिएका छन ।
चिनियाँ ठेकेदार कम्पनी चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रा.ली.ले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । चिनियाँ ठेकेदार कम्पनीले भने डेढ वर्षको समय मागेको थियो। सरकारले यो पटकको म्यादलाई भने अन्तिम भनेको छ ।
सरकारले ठेक्कालाई निरन्तरता नदिने सोचका साथ दुई दिन सम्झौताको समय लम्ब्याएको भए पनि सोहि कम्पनीलाई म्याद थप गरेको छ । नयाँ कम्पनीलाई ठेक्का दिँदा टेन्डर प्रक्रियामा जानुपर्ने, त्यो प्रक्रिया टुङ्गिनै झण्डै एक वर्ष लाग्ने र नयाँले पनि निर्धारित समयमै काम टुङ्ग्याउँछ भन्ने आधार निश्चित नभएकाले पुरानोलाई नै निरन्तरता दिन परेको नारायणघाट–बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख आशिष् थापा मगरले बताए ।
२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनीसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो ।
थपिएको यो अवधिमा कम्तीमा ३५ देखि ४० प्रतिशत प्रगति हुने अनुमान विभागको छ । तर ठेकेदार कम्पनीको निर्माणको गति हेर्दा त्यो पुरा होला भनेर विश्वास गर्ने कुनै आधार भने देखिएको छैन । अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ र पश्चिम खण्डमा ५२.५७ प्रतिशत रहेको दुवै खण्डका आयोजना प्रमुखले जनाएका छन ।