Butwal Today

कर्मचारीका सवारी साधन अब जिपिएस ट्रयापिङमा

१० श्रावण २०८१, बिहीबार
अ+
अ-

लमही, १० साउन ।
देउखुरीको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको सवारीसाधनमा जिपिएस ट्रयापिङ उपकरण जडान गरिएको छ ।

गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा उक्त उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरी सेवाग्राहीलाई सेवा प्रवाहमा चुस्तता ल्याउन सो प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताए । गाउँपालिकामा रहेका ३६ वटा सवारी साधनमा एकै पटक ट्रयापिङ सिस्टम जडान गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष विष्टका अनुसार पालिकासँगै वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिका सवारी साधनमा समेत सो उपकरण जडान गरिएको छ । सिस्टम जडान गरिएपछि कुन सवारी कहाँ छ भन्ने सहजै थाहा हुने भएकाले सवारीसाधन दुरूपयोग नहुने अध्यक्ष विष्टको भनाइ छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षले प्रयोग गर्ने सवारी साधनसहित अन्य जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने मोटरसाइकल र अन्य पालिका मातहतका सबै सवारीसाधनमा जिपिएस जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै ती सवारी साधन कहाँ कहाँ पुगेका छन भन्ने कार्यालय प्रमुखले जुनसुकै समयमा सहजै निगरानी गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।