© २०२३
बुटवल, २ कात्तिक ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनमा एमालेको बहुमत आउने दावी गरेका छन् । निर्वाचनमा एमालेको बहुमत नआए मुलुकको समृद्धिको यात्रा ओरालो लाग्ने उनको जिकिर छ ।
“एमालेविना देशको विकास र समृद्धि सम्भव छैन, मुलुकको विकासको लागि एमालेको जित आवश्यक छ”–पौडेलले भने । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीले आयोजना गरेको भेला तथा निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
सडक, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने उनले जिकिर गरे । उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको उल्लेख गर्दै ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए ।
उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए । रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको र यसको प्रभाव निर्वाचनमा देखिने पनि बताए ।
उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरुले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउँदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरुको प्रचार प्रसार आवश्यक रहेको बताए ।