© २०२३
गुल्मी, ७ साउन ।
अविरल वर्षासँगै आएको बाढीले विद्युत परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिकहरू अन्धकारमा बस्न बाध्य बनेका छन् । असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका ८ स्थित कोप्चामा रहेको लघु जलविद्युत परियोजनाको बाँध बगाई दिएपछि त्यस क्षेत्रका नागरिकहरू विद्युत सेवाबाट बञ्चित भएका हुन ।
स्थानीय दरम खोलाले ८० मिटर भन्दा लामो बाँध बगाई दिएपछि त्यस क्षेत्रका १६ सय भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा प्रभाबित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवनले जानकारी दिए ।
बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत प्राधिकरणसँग समन्वय गरेर केन्द्रिय प्रशारणको लाईन जोडनका लागि पहल गरिरहेको नगर प्रमुख खरेलले बताए । त्ससको लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्यांकन गर्न शुरु गरेको उनको भनाई छ ।
बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत र दरमखोला लघु जलविद्युतको नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक भुवन काफ्लेले बताए । नहर बगाएपछि विद्युत सेवा अबरुद्ध हुँदा मुसिकोट नगरपालिकका, बाग्लुङ्को बढिगाड गाउँपालिका र गल्कोट नगरपालिका सहित त्यस क्षेत्रका ८ हजार भन्दा बढी उपभोक्ताहरू विद्युत उपभोग गर्नवाट बञ्चित बनेको बताईएको छ ।
उक्त क्षेत्रमा परोपकार लघु जलविद्युतबाट १ सय ३५ किलोवाट र दरमखोला लघु जलविद्युतबाट ५० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । खोलामा पानीको बहाव धेरै भएका कारण बर्षा नरोकिएसम्म नहर मर्मत गर्न समस्या परेको हो । स्थानीयहरूले उपभोग गर्दै आएको विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रका नागरिकहरूलाई मोबाईल चार्ज गर्नेदेखि अन्य सञ्चार र उद्योग उपकरण सञ्चालनमा थप समस्या उत्पन्न भएको छ ।