© २०२३
अर्घाखाँची, ४ साउन ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्षले वडाको शिक्षा सुधारको लागि ट्युसन कक्षा सुरु गरेका छन् । वडाअध्यक्ष कृष्णप्रसाद पौडेल बिहानमा विद्यार्थीलाई नियमित रूपमा ट्युसन कक्षा आफै सञ्चालन गर्दै आएका हुन ।
वडामा रहेको एउटा विद्यालयमा एसईईको नतिजा सोचेअनुसारको नआएपछि वडा अध्यक्ष पोडेलले गणित विषयको टिउसन पढाउदैँ आएका हुन । वडामा निर्वाचित भएर आएसँगै विगतका दुईवर्ष पनि धातिवाङ्ग माविका विद्यार्थीहरूलाई निःशुल्क टिउसन पढाएको थिए, यसवर्ष पनि विद्यार्थीहरूलाई ग्रेड वृद्धि गराउँन टेवा पुग्ला भनेर ट्युसन पढाएको छु । वडा अध्यक्षको घरमा विहान गणित विषयको ग्रेडवृद्धि गराउँने ६ जना विद्यार्थीहरू ६ बजे नै टिउसन पढ्न आउँछन् ।
१० वर्षअगाडी कक्षा ११/१२ मा कृष्ण माविमा अध्ययन गर्दा देखि नै मेरो घरभरी ट्युसन पढ्न आउँने विद्यार्थीहरूको ताँती हुन्थ्यो, पहिला विद्यार्थीहरू धेरै हुन्थे, उनीहरू अहिले देशको सरकारी क्षेत्रदेखि विदेशमा सम्म पुगेका छन्, मैले जानेको क्षमता विद्यार्थीहरूलाई सिकाउदा टेवा पुग्ने भएकाले समय व्यवस्थापन गरेर टिउसन पढाएको छु ।
वडा अध्यक्ष पौडेल भन्छन् ‘भौतिक क्षेत्रको मात्र विकास होईन, सामाजिक क्षेत्रको विकास पनि गर्नुपर्छ, मैले टिउसन पढाउँदा शुल्क लिदैँन, सामाजिक काम गर्न जनताले ५ वर्षका लागी जिम्मेवारी दिएका हुन, तिनै जनताका छोराछोरीलाई पढाउँन पाउँदा मन हर्षित हुन्छ ।’ हाम्रो वडामा १ मावि र ४ आधारभूत विद्यालय गरी ५ वटा विद्यालयहरू छन्, शिक्षा क्षेत्रको लागि पुर्वाधार विकास देखि अतिविपन्न, जेहेन्दार विद्यार्थीहरू लक्षित कार्यक्रम पनि गर्र्दै आएका छौँ, सकारात्मक सोच सहित शिक्षा सुधार्न वडाबाट गर्ने काममा कुनै कसुर बाँकी राखेको छैन, पौडेलले भने ।’ विद्यार्थी राजनितिबाटै उदाएका पौडेल वडाअध्यक्षमा निर्वाचित ३० वर्षका युवा हुन, उनी स्नाकोत्तर तहमा गणित विषय उत्तीर्ण वडा अध्यक्ष हुन् ।
निर्वाचत भएको सुरुको वर्ष नै शिक्षकहरूका लागि कम्प्युटर शिक्षा तालिम सञ्चालन गरिएसँगै धातिवाङ्गका ५ वटै विद्यालय प्रविधीमैत्री रूपमा अगाडि बढेका छन् । बालबालिकाहरूको क्षमता विकास र बालबालिका शिक्षित भएमा गाउँको विकास हुने भएकाले पनि शिक्षा विकासको मेरुदण्ड रहेको वडाअध्यक्षको बुझाई छ । निशुल्क टिउसन पढाउँने काम राम्रो भएको भन्दै पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमसहित शिक्षाविदहरूले वडाअध्यक्षको प्रशंसा गरेका छन् ।