© २०२३
नवलपुर, २ साउन ।
पुर्वी नवलपरासीमा अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा बुधबार अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीको संयोजकत्वमा जिल्लामा रहेका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि समेतको सहभागितामा प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल समक्ष ज्ञापनपत्र पेश गरिएको हो । जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, एक महिला सञ्जालका सदस्य पवित्रा पौडेल, नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य दयाराम आचार्य, नेपाल प्रेस युनियन नवलपुर शाखाका अध्यक्ष खगराज सापकोटा, रोटरी इन्टरनेशनल नवलपुरका अध्यक्ष अर्जुन सापकोटा समेतको सहभागितामा ज्ञापनपत्र पेश गरिएको हो ।
ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ जिल्ला अदालत बार एशोसिएशन लगायतका सङ्घसंस्थाले समेत ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरका छन् ।
ज्ञापन पत्र बुझाउँदै इन्सेक प्रतिनिधि ज्ञानु पंगेनीले रोम विधान अन्तर्गत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्ने र दण्डहीनताको अन्त्यका लागि सकारात्मक परिवेश निर्माण गर्न सहयोग पुर्याउने भएकाले रोम विधान अनुमोदन आवश्यक रहेको बताइन् । राज्यले नेपालको मानवअधिकार संरक्षण र संवद्र्धनका लागि रोम विधानको अनुमोदन गर्नु आवश्यक रहेको र अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप पनि नहुने उनले बताइन् ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले मानव अधिकार भनेको प्रकृति प्रद्धत अधिकार भएकाले मानव अधिकारको सम्मान संरक्षण, सम्बद्र्धन गर्नु प्रत्येक नागरिकको दायित्व समेत रहको बताएका छन् । मानव अधिकारको रक्षाका लागि सरकार अझ बढी संवेदनशील रहेको र मातहतको निकाय जिल्ला प्रशासन कार्यालय रहेको हुँदा संस्थागत रुपमा आफूले यो विषयलाई गम्भीरता पूर्वक लिएको उनले बताए । उनले ध्यानाकर्षण गराएको कुरालाई यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउने समेत बताएका छन् ।