© २०२३
सुर्खेत,२९ असार । पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । आज विहान गएको पहिरोको कारण सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
पहिरो हटाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । लाफा बजार नजिक लगातार पहिरो खसिरहेको कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उनले बताए । पहिरो हटाउने प्रयास भइरहेको केसीले जनाए ।
यता कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशमा विपद्का कारण हुने क्षतिलाई न्यूनिकरण गर्नको लागि तल्लो युनिटलाई सक्रिय रहन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशस्थित सुरक्षा प्रमुखहरूको आकस्मिक बैठकमा मुख्यमन्त्री कँडेलले यस्तो निर्देशन दिएका हुन् । विपद्मा हुने क्षति न्यूनीकरणमा सुरक्षा निकायमा तल्ला तहका युनिटहरू सक्रिय बनाएमा ठुलो क्षतिबाट जोगाउन सकिने उनले बताए । यस्तो बेलामा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने हुँदा उपलब्ध साधन श्रोत र जनशक्तिलाई तयारी अवस्था रहन समेत कँडेलले निर्देशन दिए । यस वर्ष कर्णालीमा अहिलेसम्म अन्य प्रदेशमा जस्तो जोखिम नदेखिएको तर सम्भावित खतरासँग जुध्न सुरक्षा निकायहरूबिच समन्वयकारी भूमिका आवश्यक रहेको उनले औल्याए ।