© २०२३
बर्दघाट, २७ असार । मध्यम र विपन्नवर्गका जनताको सामान खरिद बिक्रीको थलो भनेर चिनिने साप्ताहिक हाटबजारमा सुविधाभन्दा सास्ती धेरै हुने गरेको छ । विशेषगरी तराइमा लाग्ने साप्ताहिक हाट मध्यम र विपन्न बर्गका जनताको किनमेल गर्ने थलोको रूपमा चिनिन्छ ।
बर्दघाट नगरपालिकाले नगर भित्रका ९ वटा हाटबजारमा हरेक बर्ष ठेक्का लगाउने गर्दछ । नगरले हाटबजार ठेक्काबाटै करिव ६० लाख रूपैँया आम्दानी समेत गरेको हुन्छ तर स्थानीयहरू दैनिक उपभोग्य सामान सहित अन्य आवश्यक सामान खरिदका लागि पुग्ने हाटबजार भने उचित ब्यवस्थापनको अभावमा निकै अब्यवस्थीत रहेका छन ।
हाटबजारमा ब्यवशाय गर्ने साना ब्यवशायीहरूले प्रत्येक हाटबजारमा ब्यवशाय (पसल) संचालन गरेबापत दैनिक बैठिकी बापत कम्तिमा एक सय बुझाएका हुन्छन तर उनीहरूले पाउने सुबिधा भने सुन्य प्रायः रहेको छ । विगत ११ वर्षदेखि हाटबजारमा फलफूल ब्यवसाय गर्दै आएका स्थानीय ब्यवशायी विवशराज पोखरेलले प्रत्येक बजारमा बैठकी बुझाएपनि सुविधा सुन्य भएको गुनासो गरे । –‘हामीले प्रत्येक बजारमा निश्चित रकम ठेकेदारलाई बुझाउँछौ तर सुविधाभने सुन्य छ ।’ उनले भने ‘तराइ क्षेत्र हो, सामान्य पानी पर्दा बजार हिलाम्ये हुन्छ, कम्तिमा गिटी मिस्कट विच्छाइ दिएसम्म पनिहुन्थ्यो त्यो पनि छैन, टहरा पनि छैन, गर्मिमा घाम, जाडो याममा शित र वर्षाको समयमा पानीले बेहाल बनाउँछ तर पनि ब्यवशाय गर्नुपर्छ ।’
हाट बजार ब्यवशायी संघ नवलपरासीका अध्यक्ष यम बहादुर घिमिरे क्षेत्रीले करको दायरामा आएर ब्यवशाय गरेका ब्यवशायीहरूले कुनै सुविधा नपाएको गुनासो गरे । बर्दघाट नगरमा करिव २ सय ३० जना हाटबजारमा ब्यवशाय गर्ने ब्यवशायी रहेको र उनीहरू स्थानिय सरकार, घरेलु कार्यालय र उद्योग वाणिज्य सँघमा समेत दर्ता भइ कर बुझाउँदै आए पनि न्युनतम सुविधाबाट बन्चीत रहेको बताए । प्रत्येक हाटबजार स्थलमा शुद्ध पिउने पानी, शौचालयको ब्यवस्था हुनुपर्नेमा सो समेत हुन नसकेको उनको गुनासो थियो । ‘बैठकी कर दैनिक ६० रूपैयाँ लिदै आएको नगरपालिकाले साना किसानहरूको लागि यो करको दर कम गर्नु आवश्यक छ ।’– उनले भने । करको दर निर्धारण गर्दा साना स्वरोजगार व्यवसायीहरूको लागि मुल्य कम लिन आवश्यक रहेको उनको भनाई छ ।
स्थानिय सरकारले हामीबाट वार्षिक कर, हाटबजारमा ब्यवशाय गरेको दिन कम्तिमा एक सय बैठिकी उठाएपछि बजारस्थलमा ट्रस, उपभोक्ता हिँडने बाटोमा कम्तिमा ग्रावेल गर्नुपर्ने उनको माग समेत रहेको छ । सामान्यतः बर्दघाट नगरमा लाग्ने ठूला हाटबजारमा १ हजार देखी १ हजार ५ सय जना बजार गर्न आउने समेत उनले बताए । बर्दघाट बजार क्षेत्रमा २ वटा ठूला बजार लाग्ने गर्दछ, हरेक बुधबार वडा नम्बर २ को चिसापानी र हरेक शुक्रबार वडा नम्बर ४ को हाटबजार क्षेत्र मा बजार लाग्ने गर्दछ । अधिकाँश स्थानिय तरकारीजन्य र दैनिक उपभोग्य सामान खरिद गर्ने मुख्यथलो नै हाट हो । ‘हाटबजारमा ताजा तरकारी, फलफूल र अन्य सामान केहि सस्तोमा पाइन्छ कि भनेर बजार जाने हो तर वर्षामा हिलो, हिँउदमा धुलोले हैरान बनाउँछ’ स्थानिय उपभोक्ता आनन्द सापकोटाले भने । उनले भने ‘स्थानिय सरकारले हाटबजार सँचालन गरेवापत निकै ठूलो रकम ठेक्का मार्फत संकलन गर्छ, तर त्यो संकलित रकम के मा खर्च हुन्छ ? बजारको अवस्था त कन्तविजोग नै छ, ब्यवस्थित गर्नेतिर त ध्यान नै छैन ।’ सापकोटाको आक्रोस थियो ।
बर्दघाट नगरपालिकाले नगर भित्रका ठूला हाटबजारबाट वार्षिक ६० लाख रूपैयाँ बढि ठेक्का वापत राजश्व संकलन गर्ने र ठेक्काबाट सँकलित रकमको कम्तिमा २० प्रतिशत रकम हाटबजार ब्यवस्थापनमा उपयोग गरिने कार्यविधि रहेको बर्दघाट नगरपालिकाका योजना प्रमुख एवं सूचना अधिकारी पुष्कर काफ्लेले जानकारी दिए । चालु आर्थिक वर्षमा बर्दघाट नगर भित्रका ४ वटा हाटबजार स्तरोन्नतीको लागि छनौट भएको र ४ मध्ये ३ वटा हाटबजारलाई स्तरोन्नती गरिएको काफ्लेले बताए । वडा नम्बर १३ मा रहेको पाडा बजारलाई २० लाख यस्तै वडा नम्बर १४ र १२ को बजारलाई २० लाख बजेट विनियोजन गरि स्तरोन्नती गरिएको उनले जानकारी दिए ।
बर्दघाट नगरमा संचालित अधिकाँश हाटबजार आँशिक ब्यवस्थितभए पनि पूर्ण ब्यवस्थित गर्न आवश्यक रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए । ‘हाटबजार पूर्ण ब्यवस्थित हुन नसकेको अवस्था छ, हामी आगामी आर्थिक वर्षको बजेटमा हाटबजार ब्यवस्थापन शिर्षक नै राखेर बजेट ब्यवस्थापन पनि गरेका छौँ र चालु आर्थिक वर्षको बजेटबाट पनि करिव ४० लाख रूपैया खर्च गरेर आवश्यकता हेरी ३ वटा हाटबजारको स्तरोन्नती गरेका छौँ’ नगर प्रमुख श्रेष्ठले भने ‘चिसापानी हाटबजार र बर्दघाटको हाटबजारमा सम्भव भएसम्म हिँडने बाटोमा इन्टरलक गर्ने इन्टरलक गर्न सम्भव नभए कम्तिमा मिस्कट विच्छाएर र केहि उचा बनाएर भएपनि व्यवशायी र उपभोक्तालाई सहज हुने वातावरण मिलाउने योजना छ’ उनले भने ।
ग्रामीण भेगका किसानहरूका उत्पादनले सहज बजार पाउने, अन्य दैनिक उपभोग्य एवं लत्ताकपडा समेत केहि सस्तोमा पाइने र बजार क्षेत्रका मध्यम र निम्न वर्गिय परिवारको मुख्य बजार गर्ने थलोलाइ ब्यवस्थित गर्न सके हाटबजार केन्द्रित ब्यवशायी र उपभोक्ताहरूलाइ सहज हुने थियो ।