Butwal Today

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका यमनाथ पौडेल

१८ असार २०८१, मंगलवार
अ+
अ-

बुटवल, १८ असार ।

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको प्रदेशस्तरीय प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ.।

कालिका मानवज्ञान मा.वि. बुटवलमा भएको अधिवेशनले बाँकेका यमनाथ पौडेलको अध्यक्षतामा विज्ञान शिक्षक समाज लुम्बिनी प्रदेश कार्यसमिति चयन गरेको छ.। प्रदेश कार्यसमितिमा रुपन्देहीका दिपक बन्जाडे र दाङ्गका मान बहादुर बस्नेत उपाध्यक्ष, प्युठानका मेघनाथ पौडेल सचिव, पाल्पाका राजन पौडेल सहसचिव र बर्दियाका आशा रजौरे कोषाध्यक्ष र सदस्यहरूमा टेक बहादुर राहाडी (गुल्मी), नारायण वहादुर कुँवर (पाल्पा), सन्तोष कुमार केसी (अर्घाखाँची), रूपा थापा (रुपन्देही), पारसमणी आचार्य (बाँके), केशवराज पन्डित (प्युठान), अर्जुन कुमार न्यौपाने (दाङ), खेमराज तिवारी (रोल्पा) रहेका छन् । समाजको विधान अनुसार विज्ञान शिक्षक समाजका प्रदेश भित्रका सबै जिल्ला अध्यक्षहरु पदेन सदस्य हुने व्यवस्था छ.

अधिवेशनको उद्घाटन समारोहमा कालिका मानवज्ञान मा.वि.का प्रधानध्यापक, दिनेश थापा, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, शिक्षक महासङ्घ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, प्रविधिमैत्री शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष युवराज तिवारी, शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडे तथा स्टानका सचिव मनोज आचार्यले विज्ञान शिक्षा समाजले विज्ञान विषयको क्षेत्रमा विभिन्न उपलब्धिमूलक काम गर्नुपर्ने तथा विज्ञानलाई नवप्रवर्तन र प्रविधिमा जोड दिने, विज्ञानलाई व्यावहारिक बनाउनु पर्ने लगायतका आफ्ना धारणाहरु राख्दै अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको एन जी एस ओ मा प्रथम हुन सफल कालिका मानव ज्ञानका छात्र दिपेश भट्टराइले एस्ट्रोनोमीको बारेमा आफ्नो प्रस्तुति गरेका थिए । फिजिकल सोसाइटीका अध्यक्ष डा. अनन्त पन्थीले भर्चुअल साइन्स ल्याबको बारेमा आफ्नो प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा प्रत्येक जिल्लाबाट सबैभन्दा पहिला विज्ञान शिक्षण गर्ने शिक्षकहरु, एसएमटी एसएमटी विज्ञान शिक्षक, युनेस्को नेपालको आयोजनामा विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश तथा राष्ट्रिय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम हुने बर्दियाका प्राञ्जल ज्ञवाली र कपिलबस्तुका अनुसन्धान पोखरेलका साथै विज्ञान शिक्षक समाज नेपालका १२ वटै जिल्ला संयोजक तथा अध्यक्षहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा विज्ञान शिक्षक समाज नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष विकास गौतम, विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेल, राजन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।