© २०२३
सल्यान, १६ असार । प्रारम्भिक कक्षामा नविनतम शिक्षण विधि मार्फत शैक्षणिक स्थिति सुधारका लागि सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम प्रदान गरिएको छ । सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक तथा शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाका श्रोत कक्षाका शिक्षकहरूलाई ८ दिनसम्म तालिम प्रदान गरिएको हो ।
सल्यानको श्रीनगरमा आइतबार तालिमको समापन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिक्षकमा क्षमता, उत्तरदायित्व र लगावको आवश्यकता रहने भन्दै शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि छत्रेश्वरीमा सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन गरिएको बताए । प्रारम्भीक तहका शिक्षकहरूले तालिममा प्राप्त गरेको सिपलाई लागू गर्दै शिक्षण सिकाईका नयाँ विधि अपनाएर पठनपाठन गर्न उनको आग्रह छ ।
छत्रेश्वरी गाउँपालिकाको समन्वयमा स्ट्रिट चाइल्डको प्राविधिक सहयोग तथा हेम्पल फाउण्डेशनको आर्थिक सहयोगमा आसमान नेपालद्वारा सल्यानमा सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । छत्रेश्वरी गाउँपालिकाका ३६, दार्मा गाउँपालिकाका ३३ सामुदायीक विद्यालय तथा शारदा नगरपालिकाको एक र सिद्ध कुमाख गाउँपालिकाकाको एउटा श्रोत कक्षामा यो कार्यक्रम लागू भएको आसमान नेपालले जनाएको छ । दार्मा गाउँपालिकाका शिक्षकहरूको लागि शनिबार देखि बागचौरमा तालिम सुरु भएको छ । छत्रेश्वरी गाउँपालिकाका शिक्षकहरूको लागि गत असार ९ देखि सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै आसमान नेपालका कर्णाली प्रदेश प्रमुख उपेन्द्र भण्डारीले सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम नेपाल सरकारको कार्यक्रम भएकाले यसको कार्यान्वयन संगै शैक्षिक सुधारका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
यस्तै छत्रेश्वरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर वली, स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराइले बोल्दै शिक्षण विधि शिक्षक केन्द्रित नभएर विद्यार्थीले बुझ्ने तरीकामा आधारित हुनुपर्नेमा जोड दिनुभएको थियो । सहभागिहरूको तर्फबाट बोल्दै छत्रेश्वरीको भानुभक्त माविका शिक्षक कृष्ण आचार्य र त्रिजमावि भोटेचौरका शिक्षक रमा रेग्मीले विशेष गरेर नेपाली र गणीत विषयको शिक्षण गर्दा प्रयोग गर्न सकिने नयाँ विधिको बारे धेरै महत्वपूर्ण सिप सिकेको भन्दै कक्षा कोठामा लागू गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षण शैलीमा बालबालिकाको रुचि, क्षमता, प्रवृत्ति र समस्यालाई ध्यान दिएर नयाँ तरिकाबाट पठनपाठन गर्नका लागि सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन गरिएको आसमान नेपालका लक्ष्मण थापाले जानकारी दिए ।