© २०२३
बुटवल,१५ असार । बुटवल–११ योगीकुटीमा रहेको मणिमुकुन्द सेकेण्डरी स्कूल÷कलेजले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
विद्यालयले शुक्रबार एक कार्यक्रमकाबीच एसईई उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूलाई सम्मान गर्दै बधाई तथा सफलताको शुभकामना दिएको हो ।
२०८० सालको एसईई परीक्षामा सहभागी २८ जना विद्यार्थी शतप्रतिशत उत्तिर्ण गराउन सफल मणिमुकुन्द माविकी छात्रा रोज कामुले उत्कृष्ट जिपिए ३.८७ प्राप्त गरेकी छन् ।
विद्यालयबाट ३.७४ देखि ३.८७ सम्म ल्याउने ५ जना,३.६ भन्दा तल ३.२ भन्दा माथि ल्याउने १५ जना र २.८५ देखि ३.२ सम्म ल्याउने ८ जना रहेको विद्यालय संयोजक हरी प्रसाद पौडेलले जानकारी दिए । २०७५ सालदेखि कक्षा १० सम्मको पढाई शुरु गरेको विद्यालयले स्थापनाको छोटो अवधिमै शतप्रतिशत र उत्कृष्ट नतिजा लयाउन सफल भएको बताए ।
संस्थाका प्राचार्य टुक बहादुर क्षेत्रीले विद्यालयले र कलेजले स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिदै आएको बताउदै यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरूले एमबीबीएस,ईन्जिनियरिङलगायतका बिषय अध्ययनका लागि पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए ।
२०८० सालमा नेपाल सरकारले लिएको मेडिकल तर्फको प्रवेश परीक्षामा एकैपटकमा सात जनाले एमबिबिएसमा छात्रवृत्ति प्राप्त गरेका छन् भने यसै वर्ष इन्जिनियरिङमा छ जना, एप्लाइड साइन्समा तीन जना, नर्सिङमा चार जना, बिएएमएसमा एक जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका प्राचार्य क्षेत्रीले बताए ।
एकै शैक्षिक सत्रमा आएको यो नतिजा उपत्यका बाहिरको सर्वोत्कृष्ट भएको कलेजले दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा पप्पु बानियाँ र घनश्याम बेलबासेले नेपाल चौथो र पाँचौ स्थान ल्याएका छन् भने लुम्बिनी प्रदेशमा पटक पटक उत्कृष्ट हुँदै आएको सहप्राचार्य दिवाकर खनालले बताए ।
कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरु अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अब्बल भएको कुरा प्रथम एनालग अन्तरिक्ष यात्री ज्योति केसी, टिकटक प्रोग्राम इन्जिनियर विर बहादुर खत्री, गुगलका इन्जिनियर विशाल गौतमले प्रमाणित र हिमाल खबर पत्रिकाले गरेको सर्वेक्षणबाट नेपालका उत्कृष्ट ५० विद्यालयमा पटक पटक सूचीकृत हुनुले पुष्टि गरेको व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाको सर्वेक्षण र मूल्याङ्कनमा मणिमुकुन्द क वर्गको विद्यालयमा सुचिकृत भएको छ ।
कार्यक्रममा कलेजका सञ्चालक उमापति न्यौपाने, शिक्षक प्रकाश सुवेदी,अभिभावक शारदा सुवेदी,विद्यार्थी शशि बुढाथोकीलगायतले मणिमुकुन्द मावि तथा कलेजले प्राप्त गरेका उपलब्धि र भविष्यको योजनाबारे आ आफ्नो भनाइ राखेका थिए ।