© २०२३
बुटवल, १४ असार । रूपन्देहीको देबदह नगरपालिका भलुहीमा रहेको आवास इण्डष्ट्रिज प्रालिले नवप्रवर्तनकारी उद्यमी पुरस्कार पाएको छ । विहीबार काठमाडौंमा आयोजित समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रूपन्देहीका उद्योगी यज्ञश्वर थैवलाई दुई लाख नगद सहित पुरस्कार प्रदान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीन सोंच र प्रविधिको प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा महवपूर्ण योगदान पुयाएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
उद्योग स्थापनाको पाँच वर्षको अवधीमै नेपालभर ब्राण्ड स्थापित गरेका थैवले पछिल्लो चार महिनादेखि काठमाडौंको नैकापमा समेत आवास इण्डष्ट्रिज प्रालिको शाखा संचालन गरेका छन् । स्कुल, क्याम्पस, होटल, पार्टी प्यालेस लगायतका क्षेत्रबाट ठूलो परिमाणमा कुर्चि टेबल, झुला लगायतका सामग्रीहरूको माग आएपछि काठमाडौंबाटै उत्पादन सुरु गरेको उद्योग हेरिरहेका थैबको भनाइ छ ।
आवास इण्डष्ट्रिज प्रालिबाट स्कुल क्याम्पसमा प्रयोग हुने डेस्क बेन्च, अफिस, पार्टी प्यालेस, होटल तथा रिसोर्टमा आउटडोर र इनडोर प्रयोग गरिने बुनेर बनाईएका कुर्ची टेबल, क्याफे तथा रेष्टुरेण्टका लागि सोफा, रिभल्भिङ कुर्ची, झुला, भिजिटर चेयर, विकेर फर्निचर, रेष्ट्रो एण्ड बार सोफा, डाईनिङ सेट लगायत ३ सयभन्दा बढी प्रकारका कुर्ची, स्टुल, टेबल तथा झुला उत्पादन हुन्छन् ।
आवास इण्डष्ट्रिजले रूपन्देही र काठमाण्डौमा गरि दैनिक १ हजार बढि कुर्ची तथा अफिस सामग्री उत्पादन गरी बजार पठाउने गरेको यज्ञश्वरले बताए । आवास इण्डष्ट्रिजले रूपन्देही र काठमाडौंमा गरि साढे दुई सय बढिलाई रोजगारी दिएको उनले बताए ।
पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक संकटका कारण उद्योग व्यवसाय प्रभावित बनिरहेका बेला सरकारले दिएको पुरस्कारले उद्योग व्यवसायलाई थप बिस्तार गर्न हौसल मिलेको थैबले बताए । आवास ग्रुप रूपन्देहीमा मात्रै डेढ दर्जन बढि उद्योग तथा व्यापारिक प्रतिष्ठान सन्चालनमा रहेका छन् ।