© २०२३
सुनवल, ११ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले करको दर घटाएको छ । १४औं नगरसभा मार्फत नगरपालिकाले करको दर संशोधन गर्नुका साथै विभिन्न सिफारिसमा लाग्ने दस्तुरमा पनि छुट गरेको छ । वर्षो देखि लिईदै आएको करमा आम नगरवासीलाई परेको असुविधालाई मध्यनजर गर्दै संशोधन तथा छुट गरिएको नगर प्रमुख धनपत यादवले बताए । नगरपालिकाले भूमिकर (मालपोत) मा कृषियोग्य जमिनका लागि ९५% छुट दिने भएको छ । यस अघि नगरपालिकाले कृषियोग्य जमिनमा ८५ प्रतिशत मालपोत छुट दिँदै आएको थियो । किसानको हितलाई मध्यनजर गर्दे छुट वृद्धि गरिएको नगर प्रमुख यादवले बताए । घडेरी जग्गाको हकमा भने जग्गाको मूल्याङ्कन गरी ५० प्रतिशत कर छुट दिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी विभिन्न दस्तुरमा पनि छुट दिने गरी नगरसभामा निति तथा कार्यक्रम पारित भएको नगरपालिकाले जनाएको छ । विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दे शिक्षा अध्ययन प्रयोजनका लागि सम्पत्ति मूल्याङ्कन दस्तुर अब नलाग्ने व्यवस्था गरिएको छ । जातीय प्रमाणित दस्तुर पनि पाँच सय रूपैयाँ लाग्दै आएकोमा ५० प्रतिशत छुट गरि साढे दुई सय रूपैयाँ कायम गरिएको छ । कृषि अनुदानको लागि सिफारिस दस्तुरमा सबै छुट गरिएको छ । कृषि विद्युत लाइन जडान सिफारिस गर्दा प्रति १५ एम्पियरसम्म दस्तुर नलाग्ने गरी छुटको व्यवस्था गरिएको छ ।